YouVersion लोगो
खोज आइकन

व्यवस्था 19:1-13

व्यवस्था 19:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ, तब परमप्रभु परमेश्‍वरले अधिकारमा दिन लाग्‍नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू। परमप्रभु परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्‍यानमारा त्‍यहाँ भागेर जान सकोस्‌। कसैलाई मारेर आफ्‍नो ज्‍यान बचाउनलाई त्‍यहाँ भाग्‍ने मानिसको विषयमा नियम यो हो— जसले आफ्‍नो छिमेकीलाई दुश्‍मनी नभई नचाहेरै मार्दछ। जस्‍तै, एक जना मान्‍छे वनमा आफ्‍नो छिमेकीसँग दाउरा काट्‌न जाँदा रूख ढाल्‍नलाई बन्‍चरो चलाउँदा बन्‍चरो बीँड़बाट फुस्‍केर त्‍यस छिमेकीलाई लाग्‍छ, र त्‍यो मर्छ। त्‍यो मानिस यी सहरहरूमध्‍ये एउटामा भाग्‍न सक्‍छ र त्‍यसले आफ्‍नो ज्‍यान बचाउन सक्‍छ। नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्‍यसलाई खेदेर बाटैमा फेला पारेर त्‍यसलाई मार्न सक्‍छ। वास्‍तवमा त त्‍यो मारिने योग्‍यको थिएन, किनकि रीस-रागविना नै त्‍यसले छिमेकीलाई त्‍यसो गरेको थियो। यसैकारण आफ्‍ना निम्‍ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्‍पूर्ण देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्‍नुपर्छ। यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्‍नेछ, र त्‍यसको दोष तिमीहरूलाई नै लाग्‍नेछ। तर कुनै मानिसले रीस-रागै राखी आफ्‍नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्‍यो ती सहरहरूमध्‍ये एउटामा भाग्‍यो भने, त्‍यसकै नगरका धर्म-गुरुहरूले मान्‍छे पठाई त्‍यसलाई त्‍यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्‍पिदेऊन्। त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।

शेयर गर्नुहोस्
व्यवस्था 19 पढ्नुहोस्

व्यवस्था 19:1-13 पवित्र बाइबल (NERV)

“अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ। तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ। तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्। “यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हत्यारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हत्यारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन। यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटा मध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सक्छ। तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सक्दैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सक्छ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन। शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु। “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन। “तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सक्छ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सक्छ, उसले त्यस मानिसलाई मार्न सक्छ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सक्छ। यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सक्छन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ। तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

शेयर गर्नुहोस्
व्यवस्था 19 पढ्नुहोस्

व्यवस्था 19:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“जुन मानिसहरूको देश तिमीहरूलाई दिइन्‍छ, तिनीहरूलाई परमप्रभुले ती गर्नुभएपछि र तिनीहरूका सहर र घरहरू तिमीहरूले लिएर त्‍यहाँ बास गर्न थालेपछि त्‍यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्‍न सकिने सहर रहोस्। तब तीमध्‍ये एउटा सहरमा कुनै पनि हत्‍यारा सुरक्षाको लागि भागेर जान सक्‍छ। यदि कसैले बिनावैरभाव कुनै मानिसलाई भुलचुकमा मार्‍यो भने त्‍यो त्‍यस सहरमा भागेर गई कुशलसित रहन सक्‍छ। उदाहरणको लागि यदि दुई जना मानिसहरू दाउरा काट्‍नलाई जङ्गलमा जान्‍छन्। एउटाले रूख काट्दैगर्दा हातबाट बन्‍चरो फुस्‍केर गई अर्कोलाई मार्‍यो भने त्‍यो मानिस ती तीन सहरमध्‍ये कुनै एउटामा भागेर गई ज्‍यान बचाउन सक्‍छ। यदि एउटै मात्र सहर छ भने त्‍यो धेरै टाढा पर्न जाला। त्‍यसो भए हत्‍याको बदला लिन सक्‍ने नातेदारले त्‍यो निर्दोष मानिसलाई पक्रेर आफ्‍नो रिसमा मार्न सक्‍ला। हुन त त्‍यसले बिनावैरभाव भुल-चुकमा नै एक जनालाई मारेको थियो। यसकारण म तिमीहरूलाई तीन वटा सहर अलग गर्ने आज्ञा दिँदछु। “जब परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पुर्खाहरूलाई भनेअनुसार तिम्रा देशको सिमाना बढाउनुहुन्‍छ र आफूले प्रतिज्ञा गरेअनुसार सारा देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू तीनवटा सहरहरू चुन्‍नू। (यदि मैले आज तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले गर्‍यौ र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका शिक्षाअनुसार जीवन बितायौ भने उहाँले त्‍यो देश तिमीहरूलाई दिनुहुनेछ।) तिमीहरूले त्‍यसो गर र निर्दोष मानिसहरू नमारिऊन् अनि परमप्रभुले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिनलाई मारेको दोष तिनीहरूलाई नलागोस्। “कसैले आफ्‍ना शत्रुलाई जानीजानी निर्दयतापूर्वक मारेर ती सहरहरूमध्‍ये एउटामा सुरक्षाको लागि भागिगयो भने त्‍यसको आफ्‍नै सहरका अगुवाहरूले त्‍यसलाई झिकाएर त्‍यस हत्‍याको लागि बदला लिने नातेदारका हातमा सुम्‍पिदिनेछन् र त्‍यो मारिनेछ। त्‍यसलाई केही दया नदेखाउनू। त्‍यस हत्‍यारालाई इस्राएलबाट नाश गरिदेओ र तिमीहरूलाई सबै कुरामा भलो हुनेछ।

शेयर गर्नुहोस्
व्यवस्था 19 पढ्नुहोस्