व्यवस्था 19
19
शरणलिने सहरहरू
1 #
यहोशू 20:1-9
“जुन मानिसहरूको देश तिमीहरूलाई दिइन्छ, तिनीहरूलाई परमप्रभुले ती गर्नुभएपछि र तिनीहरूका सहर र घरहरू तिमीहरूले लिएर त्यहाँ बास गर्न थालेपछि 2-3त्यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्न सकिने सहर रहोस्। तब तीमध्ये एउटा सहरमा कुनै पनि हत्यारा सुरक्षाको लागि भागेर जान सक्छ। 4यदि कसैले बिनावैरभाव कुनै मानिसलाई भुलचुकमा मार्यो भने त्यो त्यस सहरमा भागेर गई कुशलसित रहन सक्छ। 5उदाहरणको लागि यदि दुई जना मानिसहरू दाउरा काट्नलाई जङ्गलमा जान्छन्। एउटाले रूख काट्दैगर्दा हातबाट बन्चरो फुस्केर गई अर्कोलाई मार्यो भने त्यो मानिस ती तीन सहरमध्ये कुनै एउटामा भागेर गई ज्यान बचाउन सक्छ। 6यदि एउटै मात्र सहर छ भने त्यो धेरै टाढा पर्न जाला। त्यसो भए हत्याको बदला लिन सक्ने नातेदारले त्यो निर्दोष मानिसलाई पक्रेर आफ्नो रिसमा मार्न सक्ला। हुन त त्यसले बिनावैरभाव भुल-चुकमा नै एक जनालाई मारेको थियो। 7यसकारण म तिमीहरूलाई तीन वटा सहर अलग गर्ने आज्ञा दिँदछु।
8“जब परमप्रभु तिम्रा परमेश्वरले तिम्रा पुर्खाहरूलाई भनेअनुसार तिम्रा देशको सिमाना बढाउनुहुन्छ र आफूले प्रतिज्ञा गरेअनुसार सारा देश दिनुहुन्छ, 9तब तिमीहरूले अरू तीनवटा सहरहरू चुन्नू। (यदि मैले आज तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले गर्यौ र परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्यौ र उहाँका शिक्षाअनुसार जीवन बितायौ भने उहाँले त्यो देश तिमीहरूलाई दिनुहुनेछ।) 10तिमीहरूले त्यसो गर र निर्दोष मानिसहरू नमारिऊन् अनि परमप्रभुले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिनलाई मारेको दोष तिनीहरूलाई नलागोस्।
11“कसैले आफ्ना शत्रुलाई जानीजानी निर्दयतापूर्वक मारेर ती सहरहरूमध्ये एउटामा सुरक्षाको लागि भागिगयो भने 12त्यसको आफ्नै सहरका अगुवाहरूले त्यसलाई झिकाएर त्यस हत्याको लागि बदला लिने नातेदारका हातमा सुम्पिदिनेछन् र त्यो मारिनेछ। 13त्यसलाई केही दया नदेखाउनू। त्यस हत्यारालाई इस्राएलबाट नाश गरिदेओ र तिमीहरूलाई सबै कुरामा भलो हुनेछ।
पुरानो साँध-सिमाना
14 #
व्यवस्था 27:17
“परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशमा धेरै दिनदेखि राखिएको तिम्रा छिमेकीको साँध-सिमाना नसार्नू।
साक्षीबारे आदेश
15 #
गन्ती 35:30; व्यवस्था 17:6; मत्ती 18:16; यूहन्ना 8:17; २ कोरिन्थी 13:1; १ तिमोथी 5:19; हिब्रू 10:28 “कुनै अपराधमा कसैलाई दोषी ठहराउनलाई एक जनाको साक्षीले हुँदैन। कम्तीमा दुई जना साक्षी भए मात्र त्यस मानिसको दोष प्रमाण हुन्छ। 16यदि कसैले अर्कालाई झूटो दोष लाएर हानि गर्ने चेष्टा गर्छ भने 17तिनीहरू दुवै जना त्यो एकमात्र आराधना-स्थलमा जाऊन् र त्यस बेलाका पूजाहारी र न्यायकर्ताहरूले त्यसमाथि विचार गर्नेछन्। 18न्यायकर्ताहरूले त्यस कुराको पूरा जाँच गर्नेछन् र त्यस मानिसले आफ्नो इस्राएली-सङ्गीको विरुद्धमा झूटो दोष लाएको छ भने 19त्यसले त्यही सजायँ पाउनुपर्छ, जुन सजायँ त्यो दोष लगाइएको मानिसले पाउनेथियो। यस प्रकार यो दुष्ट्याइँलाई तिमीहरूले हटाउनू। 20सबैले त्यो कुरा सुन्नेछन् र डराउनेछन् र त्यस्तो दुष्ट काम कसैले फेरि कहिल्यै गर्नेछैन। 21#प्रस्थान 21:23-25; लेवी 24:19,20; मत्ती 5:38यस्ता मुद्दामा केही दया नदेखाउनू। दण्डचाहिँ प्राणको सट्टा प्राण, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र खुट्टाको साटो खुट्टा हुनुपर्छ।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 19: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.