व्यवस्था 20
20
लडाइँबारे आदेश
1“तिमीहरू आफ्ना बैरीका विरुद्धमा लडाइँ गर्न जाँदा तिमीहरूका रथ र घोडाहरू अनि आफूभन्दा धेरै बढ्ता सङ्ख्यामा सैनिकहरू देख्यौ भने नडराउनू। मिश्रबाट तिमीहरूलाई बचाउनुहुने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। 2लडाइँ सुरु गर्नुभन्दा अघि एउटा पूजाहारी अघि आएर तिम्रा सेनालाई भन्नेछ, 3‘इस्राएलका मानिसहरू हो! सुन, आज तिमीहरू लडाइँमा जाँदै छौ। तिम्रा शत्रुहरूसित नडराओ, आफ्नो साहस नहराओ अनि आतङ्कित नहोओ। 4परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग जाँदै हुनुहुन्छ र तिमीहरूलाई विजय दिनुहुनेछ।’
5“तब अधिकृतहरूले सैनिकहरूलाई यसो भन्नेछन्, ‘यहाँ कोही मानिस यस्तो छ, जसले भर्खरै घर बनाएर त्यसलाई अर्पण गरेको छैन? त्यसो भए त्यो घर फर्कोस्। नत्र त लडाइँमा त्यो मारिएला र अरू कसैले त्यसको घर अर्पण गर्नुपर्ला। 6यहाँ कोही मानिस छ, जसले भर्खरै दाखबारी लाएर दाख टिप्ने मौका अहिलेसम्म पाएको छैन? त्यसो भए त्यो घर फर्कोस्। नत्र त्यो लडाइँमा मारिएला र अरूले दाखरसको आनन्द लिनेछ। 7यहाँ विवाह गर्नलाई मगनी गरेको कोही मानिस छ? त्यो घर फर्कोस्। नत्र त्यो लडाइँमा मारियो भने अरू कसैले त्यसको मगनी भएकी स्त्रीलाई विवाह गर्नेछ।’
8“अधिकृतहरूले सैनिकहरूलाई यसो पनि भन्नेछन्, ‘यहाँ कोही साहस नभएको काँतर छ? त्यसो भए त्यो घर फर्कोस्। नत्र त्यसले अरूलाई पनि काँतर बनाइदिनेछ।’ 9अधिकृतहरूले सेनासित बोलिसकेपछि प्रत्येक दलको निम्ति एक-एक जना अगुवा चुनिनुपर्छ।
10“तिमीहरू कुनै सहरमाथि आक्रमण गर्न जाँदा पहिले त्यहाँका मानिसहरूलाई हार स्वीकार गर्ने मौका दिनू। 11तिनीहरूले आफ्ना सहरका मूल-ढोकाहरू खोलेर आत्मसमर्पण गरे भने तिनीहरू तिम्रा कमारा-कमारी बन्नेछन् र तिनीहरूलाई तिमीहरूका लागि काम गर्न कर लाग्नेछ। 12तर सहरका मानिसहरूले आत्मसमर्पण गरेनन् र लडाइँ गर्न रोजे भने त्यस सहरलाई आफ्ना सेनाले घेर्नू। 13परमप्रभु तिमीहरूका परमेश्वरले जब त्यो सहर तिम्रा कब्जामा दिनुहुनेछ, तब त्यहाँ हरेक मानिसलाई मार्नू। 14तिमीहरूले सहरमा भएका स्त्री, बाल-बच्चा, पशुहरू र अरू हरेक चीज आफ्नो निम्ति अधीनमा लिन सक्नेछौ। शत्रुका हरेक थोक तिमीहरू आफ्ना काममा चलाउन सक्नेछौ। परमप्रभुले नै ती सबै तिमीहरूलाई दिनुभएको हो। 15तिमीहरू बसोबास गर्ने देशबाट टाढामा भएका सहरहरूसित तिमीहरूले त्यसरी व्यवहार गर्नू।
16“तर परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको देशमा त्यहाँका सहरहरू जब कब्जा गर्छौ, त्यहाँ भएका हरेक प्राणीलाई मार्नू। 17परमप्रभुले आज्ञा गर्नुभएअनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू सबैलाई पूरा नाश गर्नू। 18तिनीहरूले आफ्ना देव-देवताहरूको पूजा गर्दा घिनलाग्दा कुराहरू गर्छन्। ती कुराहरू तिमीहरूलाई सिकाएर परमप्रभुको विरुद्धमा पाप गर्न नलाऊन् भनेर तिनीहरूलाई मार।
19“जब तिमीहरू कुनै सहर कब्जामा लिने चेष्टा गर्छौ, धेरै दिनसम्म त्यसलाई घेरामा राख्नुपरे पनि त्यहाँका फलका रूखहरू काटिढाल्ने काम नगर्नू। तिनका फल खानू तर रूखहरू नष्ट नगर्नू। रूखहरू तिमीहरूका बैरी होइनन्। 20सहर कब्जा नभएसम्म अरू रूखहरू काटेर घेरा हाल्ने काममा लगाउन सक्छौ।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 20: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.