“सपना यही हो। अब महाराजलाई म त्यसको अर्थ बताउनेछु। महाराज! हजुर सबैभन्दा महान् राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजुरलाई राजाहरूमाथिका महाराजा बनाउनुभएर शक्ति, सामर्थ्य र मान दिनुभएको छ। उहाँले हजुरलाई मानिसले बास गरेको यो सारा पृथ्वी र यहाँ भएका सारा पशु-पक्षीहरूका शासक बनाउनुभएको छ। त्यो निखुर सुनको शिर हजुर नै हुनुहुन्छ। हजुरपछि अर्को एउटा साम्राज्य हुनेछ तर त्यो हजुर जति महान् हुनेछैन र त्यसपछि अर्को तेस्रो काँसाको साम्राज्य हुनेछ, जसले सारा पृथ्वीमाथि शासन गर्नेछ। त्यसपछि एउटा चौथो राज्य फलामजस्तै बलियो हुनेछ र त्यसले सबै कुरा तोडेर चुर-चुर पारिदिनेछ। जसरी फलामले सबै थोक चुर-चुर पार्दछ त्यसरी नै त्यसले अघिका सबै साम्राज्यहरूलाई चुर पारी छरपष्ट पार्नेछ। हजुरले खुट्टा र त्यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्नुभयो। त्यसको अर्थ यो हो कि त्यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्य हुनेछ। त्यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो। केही फलाम र केही माटोले बनेका खुट्टाका औँलाको अर्थ यो हो कि साम्राज्यको केही भाग बलिया र अरू भाग दुर्बल हुनेछन्। हजुरले फलाम माटोसित मिसिएको पनि देख्नुभयो। त्यसको अर्थ हो, त्यस साम्राज्यका शासकहरूले जाति-जातिका मानिसहरूलाई एक बनाउन आपसमा बिहेबारी गरिदिनेछन्। तर तिनीहरू एक हुन सक्दैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन। ती शासकहरूका समयमा स्वर्गका परमेश्वरले एउटा कहिल्यै अन्त्य नहुने राज्य स्थापित गर्नुहुनेछ। त्यो राज्य कहिल्यै अरू जातिको हातमा जानेछैन; तर अरू राज्यहरूलाई पो त्यसले पूरा नष्ट गर्नेछ र त्यो राज्य आफैंचाहिँ सदाकाल रहिरहनेछ। हजुरले देख्नुभयो कि कसरी पहराबाट एउटा ढुङ्गा मानिसले नछोई फुटेर आई त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनले बनेका मूर्तिलाई तोडेको थियो। सर्वमान्य परमेश्वरले भविष्यमा के हुनेछ, त्यो हजुरलाई देखाउँदै हुनुहुन्छ। हजुरले जस्तो सपना देख्नुभयो मैले त्यस्तै वर्णन गरिदिएँ र त्यसको सही अर्थ खोलिदिएँ।” तब नबूकदनेसर राजाले भूइँसम्मै झुकेर दानिएललाई प्रणाम गरे र तिनको निम्ति बलि र भेटी चढाउने आज्ञा दिए। राजाले भने, “तिम्रा परमेश्वर सबै ईश्वरहरूभन्दा महान्, राजाहरूका पनि मालिक र रहस्य खोलिदिनुहुने परमेश्वर हुनुहुँदोरहेछ। म यो कुरो जान्दछु किनभने तिमीले यस रहस्यको अर्थ बताउन सक्यौ।” त्यसपछि तिनले दानिएललाई एउटा उच्च दर्जा दिए, धेरै बहुमूल्य उपहारहरू दिए, बेबिलोन प्रदेशका शासक नियुक्त गरे र राजाका सबै सल्लाहकारहरूका प्रधान बनाए। दानिएलले बिन्ती चढाएपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोन प्रदेशको शासनभार सुम्पे, तर दानिएलचाहिँ राजदरबारमा नै रहन लागे।
दानिएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 2:36-49
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू