दानिएल 2:36-49
दानिएल 2:36-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं। हजूर नै राजाहरूका महाराजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजूरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ। हजूरको हातमा उहाँले सारा पृथ्वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्यो सुनको टाउको हुनुहुन्छ। “हजूरपछि, हजूरको भन्दा अलि कमजोर राज्य खड़ा हुनेछ। त्यसपछि काँसोको तेस्रो राज्यले सारा पृथ्वीमाथि अधिकार जमाउनेछ। अन्त्यमा, फलामजस्तै बलियो चौथो राज्य आउनेछ, किनभने फलामले सबै थोक चकनाचूर पारिदिएझैँ त्यसले अरू सबैलाई तोड़फोड़ गरी तितरबितर पार्नेछ। हजूरले यसका खुट्टा र औँलाहरू केही माटोले, केही फलामले बनेका देख्नुभएझैँ यो विभाजित राज्य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजूरले फलाम माटोसित मिसिएको देख्नुभयो। जसरी ती औँलाहरू केही फलाम र केही माटोका थिए, त्यसरी नै यो राज्य केही बलियो, केही सजिलैसित टुक्रिने हुनेछ। र हजूरले फलाम माटोमा मिसिएको देख्नुभएझैँ मानिसहरू पनि मिश्रित जाति हुनेछन् र एकतामा रहनेछैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन। “यी राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ, जुनचाहिँ कहिल्यै नष्ट हुनेछैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्यहरूलाई चकनाचूर पार्नेछ र अन्त्य गर्नेछ, तर यो राज्यचाहिँ सदासर्वदा रहिरहनेछ। हजूरले देख्नुभएको ढुङ्गाको अर्थ यही हो, जुनचाहिँ मानिसको हातद्वारा नकाटिईकनै पहरोबाट आएको थियो— त्यो ढुङ्गा जसले फलाम, काँसो, माटो, चाँदी र सुनलाई धूलोपीठो पारिदियो। “महान् परमेश्वरले महाराजालाई भविष्यमा हुने कुराहरू देखाउनुभएको छ। त्यो सपना सत्य हो, र यसको अर्थ विश्वासयोग्य छ।” तब राजा नबूकदनेसरले दानिएलको अगाड़ि घोप्टो परी दण्डवत् गरे र तिनलाई आदर गरे, र साथै तिनलाई भेटी र धूप चढ़ाउन भनी हुकुम गरे। राजाले दानिएललाई भने, “साँच्ची नै तिमीहरूका परमेश्वर देवताहरूका पनि परमेश्वर र राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुन्छ, किनभने तिमीले यो रहस्य खोल्न सक्यौ।” तब राजाले दानिएललाई उच्च पदमा राखे र धेरै बहुमूल्य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्त प्रदेशमाथि शासक बनाए र त्यहाँका सबै ज्ञानी पुरुषहरूका प्रधान तुल्याए। त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासक नियुक्त गरे। दानिएल आफैचाहिँ राजदरबारमै रहे।
दानिएल 2:36-49 पवित्र बाइबल (NERV)
“सपना यही थियो। अब म राजालाई त्यसको अर्थ खोलिदिनेछु। हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ। तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ। “तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेस्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउँनेछ। त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ! “अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ। अनि खुट्टाको औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन। तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन्। “ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ। “यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँच्चो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।” यसपछि राजा नबूकदनेस्सरले दानियललाई निहुरिएर दण्डवत गरे। राजाले दानियलको प्रशंसा गरे। राजाले आज्ञा दिए कि दानियलको सम्मानमा भेटी स्वरूप सुगन्धित धूप प्रदान गरियोस्। राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।” यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए। दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।
दानिएल 2:36-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“सपना यही हो। अब महाराजलाई म त्यसको अर्थ बताउनेछु। महाराज! हजुर सबैभन्दा महान् राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजुरलाई राजाहरूमाथिका महाराजा बनाउनुभएर शक्ति, सामर्थ्य र मान दिनुभएको छ। उहाँले हजुरलाई मानिसले बास गरेको यो सारा पृथ्वी र यहाँ भएका सारा पशु-पक्षीहरूका शासक बनाउनुभएको छ। त्यो निखुर सुनको शिर हजुर नै हुनुहुन्छ। हजुरपछि अर्को एउटा साम्राज्य हुनेछ तर त्यो हजुर जति महान् हुनेछैन र त्यसपछि अर्को तेस्रो काँसाको साम्राज्य हुनेछ, जसले सारा पृथ्वीमाथि शासन गर्नेछ। त्यसपछि एउटा चौथो राज्य फलामजस्तै बलियो हुनेछ र त्यसले सबै कुरा तोडेर चुर-चुर पारिदिनेछ। जसरी फलामले सबै थोक चुर-चुर पार्दछ त्यसरी नै त्यसले अघिका सबै साम्राज्यहरूलाई चुर पारी छरपष्ट पार्नेछ। हजुरले खुट्टा र त्यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्नुभयो। त्यसको अर्थ यो हो कि त्यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्य हुनेछ। त्यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो। केही फलाम र केही माटोले बनेका खुट्टाका औँलाको अर्थ यो हो कि साम्राज्यको केही भाग बलिया र अरू भाग दुर्बल हुनेछन्। हजुरले फलाम माटोसित मिसिएको पनि देख्नुभयो। त्यसको अर्थ हो, त्यस साम्राज्यका शासकहरूले जाति-जातिका मानिसहरूलाई एक बनाउन आपसमा बिहेबारी गरिदिनेछन्। तर तिनीहरू एक हुन सक्दैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन। ती शासकहरूका समयमा स्वर्गका परमेश्वरले एउटा कहिल्यै अन्त्य नहुने राज्य स्थापित गर्नुहुनेछ। त्यो राज्य कहिल्यै अरू जातिको हातमा जानेछैन; तर अरू राज्यहरूलाई पो त्यसले पूरा नष्ट गर्नेछ र त्यो राज्य आफैंचाहिँ सदाकाल रहिरहनेछ। हजुरले देख्नुभयो कि कसरी पहराबाट एउटा ढुङ्गा मानिसले नछोई फुटेर आई त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनले बनेका मूर्तिलाई तोडेको थियो। सर्वमान्य परमेश्वरले भविष्यमा के हुनेछ, त्यो हजुरलाई देखाउँदै हुनुहुन्छ। हजुरले जस्तो सपना देख्नुभयो मैले त्यस्तै वर्णन गरिदिएँ र त्यसको सही अर्थ खोलिदिएँ।” तब नबूकदनेसर राजाले भूइँसम्मै झुकेर दानिएललाई प्रणाम गरे र तिनको निम्ति बलि र भेटी चढाउने आज्ञा दिए। राजाले भने, “तिम्रा परमेश्वर सबै ईश्वरहरूभन्दा महान्, राजाहरूका पनि मालिक र रहस्य खोलिदिनुहुने परमेश्वर हुनुहुँदोरहेछ। म यो कुरो जान्दछु किनभने तिमीले यस रहस्यको अर्थ बताउन सक्यौ।” त्यसपछि तिनले दानिएललाई एउटा उच्च दर्जा दिए, धेरै बहुमूल्य उपहारहरू दिए, बेबिलोन प्रदेशका शासक नियुक्त गरे र राजाका सबै सल्लाहकारहरूका प्रधान बनाए। दानिएलले बिन्ती चढाएपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोन प्रदेशको शासनभार सुम्पे, तर दानिएलचाहिँ राजदरबारमा नै रहन लागे।