“सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं। हजूर नै राजाहरूका महाराजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजूरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ। हजूरको हातमा उहाँले सारा पृथ्वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्यो सुनको टाउको हुनुहुन्छ। “हजूरपछि, हजूरको भन्दा अलि कमजोर राज्य खड़ा हुनेछ। त्यसपछि काँसोको तेस्रो राज्यले सारा पृथ्वीमाथि अधिकार जमाउनेछ। अन्त्यमा, फलामजस्तै बलियो चौथो राज्य आउनेछ, किनभने फलामले सबै थोक चकनाचूर पारिदिएझैँ त्यसले अरू सबैलाई तोड़फोड़ गरी तितरबितर पार्नेछ। हजूरले यसका खुट्टा र औँलाहरू केही माटोले, केही फलामले बनेका देख्नुभएझैँ यो विभाजित राज्य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजूरले फलाम माटोसित मिसिएको देख्नुभयो। जसरी ती औँलाहरू केही फलाम र केही माटोका थिए, त्यसरी नै यो राज्य केही बलियो, केही सजिलैसित टुक्रिने हुनेछ। र हजूरले फलाम माटोमा मिसिएको देख्नुभएझैँ मानिसहरू पनि मिश्रित जाति हुनेछन् र एकतामा रहनेछैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन। “यी राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ, जुनचाहिँ कहिल्यै नष्ट हुनेछैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्यहरूलाई चकनाचूर पार्नेछ र अन्त्य गर्नेछ, तर यो राज्यचाहिँ सदासर्वदा रहिरहनेछ। हजूरले देख्नुभएको ढुङ्गाको अर्थ यही हो, जुनचाहिँ मानिसको हातद्वारा नकाटिईकनै पहरोबाट आएको थियो— त्यो ढुङ्गा जसले फलाम, काँसो, माटो, चाँदी र सुनलाई धूलोपीठो पारिदियो। “महान् परमेश्वरले महाराजालाई भविष्यमा हुने कुराहरू देखाउनुभएको छ। त्यो सपना सत्य हो, र यसको अर्थ विश्वासयोग्य छ।” तब राजा नबूकदनेसरले दानिएलको अगाड़ि घोप्टो परी दण्डवत् गरे र तिनलाई आदर गरे, र साथै तिनलाई भेटी र धूप चढ़ाउन भनी हुकुम गरे। राजाले दानिएललाई भने, “साँच्ची नै तिमीहरूका परमेश्वर देवताहरूका पनि परमेश्वर र राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुन्छ, किनभने तिमीले यो रहस्य खोल्न सक्यौ।” तब राजाले दानिएललाई उच्च पदमा राखे र धेरै बहुमूल्य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्त प्रदेशमाथि शासक बनाए र त्यहाँका सबै ज्ञानी पुरुषहरूका प्रधान तुल्याए। त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासक नियुक्त गरे। दानिएल आफैचाहिँ राजदरबारमै रहे।
दानिएल 2 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 2:36-49
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू