तब दानिएल अर्योककहाँ गए, उनलाई राजाका सल्लाहकारहरूलाई मार्ने आज्ञा राजाले दिएका थिए। दानिएलले तिनलाई भने, “तिनीहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उनको सपनाको अर्थ बताइदिनेछु।” अर्योकले तुरुन्तै दानिएललाई राजा नबूकदनेसरका अघि हाजिर गरे र भने, “महाराज मैले एक जना यहूदी कैदीलाई भेटेको छु, जसले हजुरको सपनाको अर्थ हजुरलाई बताउन सक्छ।” राजाले दानिएललाई (जसको नाम बेलतसजर पनि थियो) भने, “मैले के सपना देखें र त्यसको अर्थ के हो? तिमीले मलाई बताउन सक्छौ त?” दानिएलले उत्तर दिए, “महाराज, यहाँ कुनै सल्लाहकार वा मन्त्र-तन्त्र गर्ने वा जादूगर वा ज्योतिषी छैन, जसले हजुरलाई त्यो बताउन सक्छ। तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका अर्थहरू खोलिदिनुहुन्छ। उहाँले नै भविष्यमा के हुनेछ, त्यो महाराजालाई बताइदिनुभएको हो। अब म हजुरलाई त्यो सपना अथवा हजुरले सुतेका बेलामा देख्नुभएको दर्शन के थियो, सो बताउनेछु। “हजुर सुत्नुभएको बेला भविष्यको बारेमा हजुरले सपना देख्नुभयो र रहस्य खोलिदिनुहुने परमेश्वरले पछि के हुने हो, सो हजुरलाई देखाइदिनुभएको हो। यो रहस्य अब मलाई स्पष्ट भएको छ। म अरूभन्दा बढ्ता बुद्धिमान् भएकोले होइन; तर महाराजाले आफ्नो सपनाको अर्थ जान्नुहोस् र आफ्ना मनका सोच-विचार बुझ्नुहोस् भनी यो रहस्य मलाई खोलिदिनुभएको छ। “महाराज, दर्शनमा हजुरले आफ्नो अघि एउटा चहकिलो र चम्किलो, हेर्दा डरलाग्दो विशाल मूर्ति देख्नुभयो। त्यसको शिर निखुर सुनको, छाती र पाखुराहरू चाँदीका, कम्मर र फिला काँसाका, गोडा फलामका र खुट्टा केही फलाम र केही माटो मिसिएर बनेका थिए। हजुरले हेरिरहनुहुँदा पहराबाट एउटा ठूलो ढुङ्गा मानिसले नछोई आफैं फुटेर आयो र मूर्तिको फलाम र माटोले बनेका खुट्टामा लाग्यो र त्यसले ती चकनाचुर पारिदियो। तुरुन्तै फलाम, माटो, काँसा, चाँदी र सुन जम्मै चकनाचुर भए र ती ग्रीष्मकालमा खलामा उडेको भुसझैँ धुलैधुलो भए। ती धूला बतासले उडाएर लग्यो र त्यसका नाम-निशानै रहेन। तर त्यो मूर्तिलाई लागेको ढुङ्गाचाहिँ बढ्दै गएर एउटा पहाड बनियो र त्यसले सारा पृथ्वी ढाक्यो।
दानिएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 2:24-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू