दानिएल 2:24-35
दानिएल 2:24-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दानिएल बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न भनी राजाले खटाएका अर्योककहाँ गएर उनलाई भने, “बेबिलोनका ज्ञानी पुरुषहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उहाँलाई उहाँको सपनाको अर्थ बताइदिनेछु।” अनि अर्योकले दानिएललाई तुरुन्तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्छ।” राजाले दानिएललाई (जसको नाउँ बेलतसजर पनि हो) सोधे, “के तिमी मेरो सपना र त्यसको अर्थ बताउन सक्छौ?” दानिएलले जवाफ दिए, “महाराजाले सोध्नुभएको रहस्यको कुरा कुनै पनि ज्ञानी पुरुष, मन्त्रतन्त्र गर्ने, जादूगर वा जोखना हेर्नेले बताउन सक्दैन, तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्: “हे महाराजा, हजूर ओछ्यानमा ढल्किरहनुभएको बेला हजूरको मन भविष्यमा के हुने होला भन्ने तर्फ गयो, र रहस्य प्रकट गर्नुहुनेले भविष्यमा हुने कुरा देखाउनुभएको छ। तर जसै मलाई यो रहस्य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्दा ममा बढ्ता बुद्धि भएको कारणले होइन तर यसैकारण कि हजूर महाराजालाई सपनाको अर्थ खोलिओस् र हजूरको आफ्नो मनमा भएका कुरा बुझ्न सक्नुभएको होस् भनेर हो। “हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्नुभयो। यो सालिक विशाल र अत्यन्तै चहकिलो देखिन्थ्यो र त्यसको रूप भयानक थियो। त्यस सालिकको टाउको निक्खर सुनको, त्यसका छाती र हातहरू चाँदीका, त्यसका पेट र तिघ्राहरू काँसाका, त्यसका गोड़ाहरू फलामका, र त्यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए। हजूरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्यस सालिकका फलाम र माटोले बनेका खुट्टालाई हान्यो र ती चकनाचूर पारिदियो। त्यसपछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकै चोटि धूलोपीठो भए, र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भुसलाई उड़ाएझैँ बतासले त्यसलाई नाउँनिशानै नहुने गरी उड़ाएर लग्यो। तर त्यस सालिकलाई हान्ने त्यो ढुङ्गा बढ्दैगएर ठूलो पहाड़ बन्यो र पूरै पृथ्वीलाई ढाकिदियो।
दानिएल 2:24-35 पवित्र बाइबल (NERV)
त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मार्नु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।” अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।” राजाले दानियललाई (बेलतसजर) जवाफमा प्रश्न गरे, “के तिमीले साँच्चै मेरो सपनाको अर्थ र त्यसको व्याख्या गर्न सक्छौ?” दानियलले राजालाई उत्तर दिए, “हे राजा नबूकदनेस्सर, कुनै पनि ज्योतिषीहरू बुद्धिमानी मानिस, मंत्र-तंत्र जान्नेहरू अनि कल्दीहरूले राजाको सपनाको गुप्त कुराहरू बताउँन सकेनन्। तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओछ्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो होः हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो। परमेश्वरले यो रहस्य मलाई बताउँनु भयो। यो यसकारण भयो कि मेरोमा अरू मानिसहरू भन्दा ज्यादा बुद्धि छ। तर परमेश्वरले मलाई यो भेद यसकारण बताउनु भयो कि राजालाई उसको सपनाको अर्थ थाहा होस्। हे राजा यस्तो प्रकारले, तपाईंको मनमा जुन विचारहरू आउँदैछ त्यसलाई सम्झनु होस्। “हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आकर्षक थियो। यसको रूप डरलाग्दो थियो। त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए। यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए। जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो। त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढ्दै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।
दानिएल 2:24-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब दानिएल अर्योककहाँ गए, उनलाई राजाका सल्लाहकारहरूलाई मार्ने आज्ञा राजाले दिएका थिए। दानिएलले तिनलाई भने, “तिनीहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उनको सपनाको अर्थ बताइदिनेछु।” अर्योकले तुरुन्तै दानिएललाई राजा नबूकदनेसरका अघि हाजिर गरे र भने, “महाराज मैले एक जना यहूदी कैदीलाई भेटेको छु, जसले हजुरको सपनाको अर्थ हजुरलाई बताउन सक्छ।” राजाले दानिएललाई (जसको नाम बेलतसजर पनि थियो) भने, “मैले के सपना देखें र त्यसको अर्थ के हो? तिमीले मलाई बताउन सक्छौ त?” दानिएलले उत्तर दिए, “महाराज, यहाँ कुनै सल्लाहकार वा मन्त्र-तन्त्र गर्ने वा जादूगर वा ज्योतिषी छैन, जसले हजुरलाई त्यो बताउन सक्छ। तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका अर्थहरू खोलिदिनुहुन्छ। उहाँले नै भविष्यमा के हुनेछ, त्यो महाराजालाई बताइदिनुभएको हो। अब म हजुरलाई त्यो सपना अथवा हजुरले सुतेका बेलामा देख्नुभएको दर्शन के थियो, सो बताउनेछु। “हजुर सुत्नुभएको बेला भविष्यको बारेमा हजुरले सपना देख्नुभयो र रहस्य खोलिदिनुहुने परमेश्वरले पछि के हुने हो, सो हजुरलाई देखाइदिनुभएको हो। यो रहस्य अब मलाई स्पष्ट भएको छ। म अरूभन्दा बढ्ता बुद्धिमान् भएकोले होइन; तर महाराजाले आफ्नो सपनाको अर्थ जान्नुहोस् र आफ्ना मनका सोच-विचार बुझ्नुहोस् भनी यो रहस्य मलाई खोलिदिनुभएको छ। “महाराज, दर्शनमा हजुरले आफ्नो अघि एउटा चहकिलो र चम्किलो, हेर्दा डरलाग्दो विशाल मूर्ति देख्नुभयो। त्यसको शिर निखुर सुनको, छाती र पाखुराहरू चाँदीका, कम्मर र फिला काँसाका, गोडा फलामका र खुट्टा केही फलाम र केही माटो मिसिएर बनेका थिए। हजुरले हेरिरहनुहुँदा पहराबाट एउटा ठूलो ढुङ्गा मानिसले नछोई आफैं फुटेर आयो र मूर्तिको फलाम र माटोले बनेका खुट्टामा लाग्यो र त्यसले ती चकनाचुर पारिदियो। तुरुन्तै फलाम, माटो, काँसा, चाँदी र सुन जम्मै चकनाचुर भए र ती ग्रीष्मकालमा खलामा उडेको भुसझैँ धुलैधुलो भए। ती धूला बतासले उडाएर लग्यो र त्यसका नाम-निशानै रहेन। तर त्यो मूर्तिलाई लागेको ढुङ्गाचाहिँ बढ्दै गएर एउटा पहाड बनियो र त्यसले सारा पृथ्वी ढाक्यो।