तब दानिएल बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न भनी राजाले खटाएका अर्योककहाँ गएर उनलाई भने, “बेबिलोनका ज्ञानी पुरुषहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उहाँलाई उहाँको सपनाको अर्थ बताइदिनेछु।” अनि अर्योकले दानिएललाई तुरुन्तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्छ।” राजाले दानिएललाई (जसको नाउँ बेलतसजर पनि हो) सोधे, “के तिमी मेरो सपना र त्यसको अर्थ बताउन सक्छौ?” दानिएलले जवाफ दिए, “महाराजाले सोध्नुभएको रहस्यको कुरा कुनै पनि ज्ञानी पुरुष, मन्त्रतन्त्र गर्ने, जादूगर वा जोखना हेर्नेले बताउन सक्दैन, तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्: “हे महाराजा, हजूर ओछ्यानमा ढल्किरहनुभएको बेला हजूरको मन भविष्यमा के हुने होला भन्ने तर्फ गयो, र रहस्य प्रकट गर्नुहुनेले भविष्यमा हुने कुरा देखाउनुभएको छ। तर जसै मलाई यो रहस्य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्दा ममा बढ्ता बुद्धि भएको कारणले होइन तर यसैकारण कि हजूर महाराजालाई सपनाको अर्थ खोलिओस् र हजूरको आफ्नो मनमा भएका कुरा बुझ्न सक्नुभएको होस् भनेर हो। “हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्नुभयो। यो सालिक विशाल र अत्यन्तै चहकिलो देखिन्थ्यो र त्यसको रूप भयानक थियो। त्यस सालिकको टाउको निक्खर सुनको, त्यसका छाती र हातहरू चाँदीका, त्यसका पेट र तिघ्राहरू काँसाका, त्यसका गोड़ाहरू फलामका, र त्यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए। हजूरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्यस सालिकका फलाम र माटोले बनेका खुट्टालाई हान्यो र ती चकनाचूर पारिदियो। त्यसपछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकै चोटि धूलोपीठो भए, र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भुसलाई उड़ाएझैँ बतासले त्यसलाई नाउँनिशानै नहुने गरी उड़ाएर लग्यो। तर त्यस सालिकलाई हान्ने त्यो ढुङ्गा बढ्दैगएर ठूलो पहाड़ बन्यो र पूरै पृथ्वीलाई ढाकिदियो।
दानिएल 2 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 2:24-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू