YouVersion लोगो
खोज आइकन

दानिएल 10:7-19

दानिएल 10:7-19 सरल नेपाली

त्‍यो दर्शन देख्‍ने म एक जना मात्र थिएँ। मसित भएका मानिसहरूले केही देखेनन् तर तिनीहरू डराए र भागेर लुके। यो उदेकको दर्शन हेर्न म मात्र त्‍यहाँ एक्‍लै छोडिएँ। डरले ममा केही बल रहेन र मेरो अनुहार बदलियो। मलाई कसैले चिन्‍न सक्‍ने भएन। उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्‍टो परेर लडें। तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्‍यायो। म अझै कामिरहेको थिएँ। स्‍वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। सिधा भई उभ र मैले के भन्‍न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्‍यसो भनेपछि म काम्‍दै उभिएँ। त्‍यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्‍ने शक्ति पाउन आफैंलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु। फारस देशको शासकले एक्‍काईस दिनसम्‍म मेरो विरोध गर्‍यो। त्‍यसपछि एउटा मुख्‍य स्‍वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्‍लै छोडिएको थिएँ। अनि भविष्‍यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।” उनले त्‍यसो भनेपछि मैले अवाक् भएर जमिनमा हेरिरहें। तब ती मानिसजस्‍ता देखिने स्‍वर्गदूतले हात उचालेर मेरा ओठ छोए। मैले उनलाई भनें, “हजुर, यस दर्शनले मलाई यति कमजोर बनाएको छ कि मेरो कम्‍पन रोक्‍नै सक्तिनँ। आफ्‍नो मालिकको अघि उभिएको कमाराझैँ मेरो हालत छ, म कसरी तपाईंसित बोल्‍न सक्‍छु र? ममा बल वा सास छँदैछैन।” फेरि एकपल्‍ट तिनले मलाई समाते र म केही बलियो भएँ। उनले भने, “परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। तिमी नडराऊ, तिमीलाई शान्‍ति होस्, बलियो र साहसी होऊ।” उनले त्‍यसो भनेपछि म अझै बलियो भएँ। मैले भनें, “हजुर, भन्‍नुहोस्। तपाईंले मलाई बल दिनुभएको छ।”

दानिएल 10 पढ्नुहोस्