YouVersion लोगो
खोज आइकन

प्रेरित 8:9-25

प्रेरित 8:9-25 सरल नेपाली

त्‍यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्‍छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्‍नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्‍थ्‍यो। सहरका साना-ठूला सबै मानिसहरूले “त्‍यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्‍थे। धेरै समयदेखि नै मानिसहरूलाई आफ्‍नो जादूले दङ्ग पारेको हुनाले सबैले त्‍यसलाई मान्‍थे। तर जब फिलिपले परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्‍छ भन्‍ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्‍वास गरे। पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्‍मा लिए। सिमोनले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्‍मा पायो। त्‍यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्‍न लाग्‍यो। फिलिपले गरेका अचम्‍मका कामहरू र चिन्‍हहरू देखेर ऊ छक्‍कै पर्थ्‍यो। सामरिया सहरका मानिसहरूले परमेश्‍वरको शिक्षा पाए भनेको सुनेर यरूशलेममा हुने प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए। सामरिया सहरमा आइपुगेपछि पत्रुस र यूहन्‍नाले प्रभुमा विश्‍वास गरेका मानिसहरूले पवित्र आत्‍मा पाऊन् भनेर प्रार्थना गरे किनभने तिनीहरू कसैमाथि पनि पवित्र आत्‍मा आउनुभएको थिएन। तिनीहरूले खालि प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा पाएका थिए। पत्रुस र यूहन्‍नाले आफ्‍ना हात प्रभुमा विश्‍वास गरेका ती मानिसहरूमाथि राखे र तिनीहरूले पवित्र आत्‍मा पाए। ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्‍मा पाइँदोरहेछ भन्‍ने सिमोनले देख्‍यो अनि तिनीहरूलाई पैसा दिँदै भन्‍यो, “मानिसमाथि हात राख्‍दा पवित्र आत्‍मा पाउने यो शक्ति मलाई पनि दिनुहोस्।” तर पत्रुसले भने, “तेरो पैसा तँसँगै नरकमा परिजाओस्। तैँले त परमेश्‍वरको वरदान पनि पैसाले किन्‍न सकिन्‍छ भनी सोचिस्। तैँले यो काम गर्न पाउँदैनस्। तेरो यसमा न भाग छ न अधिकार किनभने तेरो मन परमेश्‍वरको अघि ठीक रहेनछ। अब ‘मैले दुष्‍ट विचार गरेको छु’ भन्‍ने कुरा मानिलिएर यस्‍तो विचार गर्न छोडी परमेश्‍वरसँग प्रार्थना गर्‌। सायद उहाँले तेरो यस्‍तो विचारलाई क्षमा दिनुहुन्‍छ। तँ ईर्ष्‍याको तीतोपनले भरिएको र पापको बन्‍धनमा परेको रहेछस्।” यो सुनेर सिमोनले पत्रुस र यूहन्‍नालाई भन्‍यो, “तपाईंले भन्‍नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।” आफ्‍नो साक्षी र प्रभुको शिक्षा सुनाएपछि पत्रुस र यूहन्‍ना यरूशलेमतिर फर्के। फर्केर आउँदा तिनीहरूले सामरिया क्षेत्रका गाउँहरूमा पसेर सुसमाचार सुनाए।

प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:9-25 को लागि भिडियो