सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो। त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।” तिनीहरूले त्यसलाई मान्थे, किनभने धेरै समयदेखि त्यसले आफ्नो जादूगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो। तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाऊन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे। किनकि त्यतिञ्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्मा पाए। अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो, “मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।” तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्। यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ। यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला। किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।” तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।” अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के।
प्रेरित 8 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 8:9-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू