YouVersion लोगो
खोज आइकन

प्रेरित 7:1-32

प्रेरित 7:1-32 सरल नेपाली

प्रधान पूजाहारीले स्‍तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?” स्‍तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्‍ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्‍ने देशमा बस्‍थे। त्‍यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्‍वरले दर्शन दिनुभयो। परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, ‘आफ्‍नो देश र कुटुम्‍बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’। त्‍यसो हुँदा अब्राहाम कल्‍दीहरूको देशबाट निक्‍लेर हारानमा गए र त्‍यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्‍वरले तिनलाई तपाईंहरू अहिले बस्‍नुभएको यही देशमा ल्‍याउनुभयो। त्‍यस बेला परमेश्‍वरले अब्राहामलाई यस देशमा आफ्‍नो पाइलो राख्‍नेसम्‍म जमिन पनि दिनुभएन। तर परमेश्‍वरले ‘यो देश तँ र तेरा सन्‍तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। परमेश्‍वरले अब्राहामलाई अझै भन्‍नुभयो, ‘तेरा सन्‍तानहरू विदेशमा गएर बस्‍नेछन्। त्‍यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्‍म ठूलो दु:ख दिनेछन्। तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्‍ड दिनेछु। त्‍यसपछि तिनीहरू त्‍यस देशबाट निक्‍लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’। “अनि परमेश्‍वरले अब्राहामसँग वाचा बाँध्‍नुभयो र त्‍यस वाचाको सम्‍झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्‍यसपछि अब्राहामका छोरा इसहाकको जन्‍म भयो। अब्राहामले आफ्‍नो छोरालाई जन्‍मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्‍नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्‍ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्। “याकूबका छोरा योसेफलाई अरू दाजुभाइहरूले डाह गर्थे। तिनीहरूले योसेफलाई मिश्रदेशका मानिसहरूका हातमा बेचिदिए र उनी कमारा भए। तर परमेश्‍वर योसेफसँग हुनुहुन्‍थ्‍यो। परमेश्‍वरले तिनलाई सबै दु:खबाट छुटाउनुभयो। जब योसेफ मिश्रका राजा फारोका अघि आए, तब परमेश्‍वरले उनलाई सुबुद्धि र असल विचार दिनुभयो। यो देखेर फारोले उनलाई मिश्रदेशको बडा-हाकिम बनाए। त्‍यस बेलादेखि दरबारमा योसेफको हुकुम चल्‍न लाग्‍यो। “त्‍यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्‍ने कनान देशभरि अनिकाल पर्‍यो। त्‍यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्‍यौली मानिसहरूले अन्‍न नै पाएनन्। मिश्रदेशमा अन्‍न छ भन्‍ने कुरा सुनेर याकूबले आफ्‍ना छोराहरूलाई पहिलोपल्‍ट त्‍यस देशमा पठाए। उनीहरू दोस्रोपल्‍ट अन्‍न किन्‍न जाँदा योसेफले आफैंलाई आफ्‍नो दाजुभाइका अघि चिनाए। त्‍यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो। योसेफले आफ्‍ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्‍यसो हुँदा याकूब आफ्‍नो जम्‍मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए। यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्‍यहीँ मरे। उनीहरूका लाश लगिए र शकेम भन्‍ने ठाउँमा गाडिए। त्‍यो जग्‍गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए। “परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्‍यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्‍ख्‍या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो। आखिरमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्‍य गर्न थाले। तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्‍याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्‍मनासाथ जबरजस्‍ती घरदेखि बाहिर फाल्‍न लाउँथे। “त्‍यसै समयमा मोशाको जन्‍म भयो। उनलाई परमेश्‍वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्‍म घरमै लुकाएर पाले। तर पछि लुकाउन नसकेर घरबाहिर राख्‍दा फारोकी छोरीले उनलाई लगेर आफ्‍नै छोरो बनाएर पालिन्। उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। “जब मोशा चालीस वर्ष पुगे, उनले आफ्‍ना इस्राएली जातिलाई भेट्‍ने इच्‍छा गरे। एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्‍यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे। परमेश्‍वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्‍कारा दिन लाग्‍नुभएको छ भनी आफ्‍नै मानिसहरूले बुझ्‍लान् भन्‍ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्। “भोलिपल्‍ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’ तर हेप्‍ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्‍यो, ‘कसले तँलाई हामीमाथि राजा र न्‍यायाधीश बनाएर पठायो? हिजो त्‍यस मिश्रीलाई मारेजस्‍तै के मलाई पनि मार्न खोज्‍छस्?’ यस्‍तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्‍ने देशमा बसोबास गर्न लागे। त्‍यहाँ रहँदा-बस्‍दा उनका दुईटा छोरा भए। “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्‍वर्गदूत मोशाकहाँ देखा परे। यो देखेर मोशा छक्‍कै परे अनि राम्ररी हेर्नलाई त्‍यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने, ‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्‍न थाले र उनले हेर्ने साहससम्‍म पनि गरेनन्।

प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:1-32 को लागि भिडियो