भाकल गरेको सात दिन पूरा हुन लागेको थियो। तब एशिया इलाकाबाट आएका यहूदीहरूले पावललाई मन्दिरमा देखे। तिनीहरूले मानिसको भीडलाई सुर्याए अनि पावललाई समातेर चिच्च्याउँदै भन्न लागे, “आओ, आओ, इस्राएली दाजुभाइहरू हो, मद्दत गर। यही मानिस हो, जताततै गएर हामी इस्राएलीहरूको विरोधमा बोल्ने! मोशाको व्यवस्था नमान्नू अनि मन्दिरमा पूजा पनि नगर्नू भनी सिकाउने यही हो। अझै त्यसमाथि यसले अरू जातिका मानिसहरूलाई मन्दिरमा पसाएर यस पवित्र ठाउँलाई पनि अपवित्र पारिदिएको छ।” किनभने तिनीहरूले एफिससबाट आएका त्रोफिमसलाई पावलसँगै सहरमा देखेका थिए र पावलले तिनलाई मन्दिरभित्रै ल्याए भनी सम्झेका थिए। यस कुराले सहरभरि होहल्ला मच्चियो र मानिसहरू चारैतिरबाट ओइरिएर आए। तिनीहरूले पावललाई घिसार्दै मन्दिरभित्रबाट बाहिर निकाले अनि मन्दिरको ढोका थुनिदिए। तिनीहरूले पावललाई मार्नै आँटेका थिए। त्यतिखेर नै यरूशलेम सहरमा मारकाट हुन लाग्दै छ भन्ने खबर रोमी सेनापतिको कानमा पुग्यो। उनी तुरुन्तै सिपाही र कप्तानहरू लिएर दगुर्दै मानिसको भीडतिर लागे। उनीहरूलाई आएको देखेर मानिसहरूले पावललाई कुटपिट गर्न छोडे। सेनापतिले पावललाई पक्रे र दुईटा साङ्लाले बाँध्न लगाए अनि मानिसहरूलाई सोधे, “यसले के गर्यो? यो कहाँको मानिस हो?” तर भीडमा भएका मानिसहरू कसैले एक थोक भने त कसैले अर्कै थोक। यसरी सेनापतिले झगडाको खास कुरा थाहै पाउन सकेनन्। त्यसो हुँदा उनले पावललाई सिपाहीहरू बस्ने किल्लामा लान हुकुम गरे। सिपाहीहरूले पावललाई लिएर जाँदा मानिसको घुइँचो उनीहरूको पछि-पछि लागिहाल्यो। सिंढीबाट माथि जान लाग्दा मानिसहरू पावललाई मार्न आइलागे। त्यसो हुँदा मानिसहरूबाट बचाउन सिपाहीहरूले उनलाई बोकेर लगे। त्यस बेलासम्म पनि मानिसहरू पावललाई मार्नै पर्छ भनेर चिच्च्याउँदै कराइरहेका थिए। किल्लाभित्र पस्न लाग्दा पावलले सेनापतिलाई ग्रीक भाषामा भने, “हजुर, म तपाईंको अगाडि केही बिन्ती चढाउन सक्छु कि?” सेनापतिले भने, “ए! तिमीले ग्रीक भाषा पनि जानेका छौ? के तिमी त्यो उत्पात मच्चाउने चार हजार डाकाहरूको मिश्री नेता त होइनौ?” पावलले भने, “होइन हजुर! म त किलिकियाको टार्सस सहरमा जन्मिएको यहूदी हुँ। म त्यही नाउँ चलेको सहरको एउटा नागरिक हुँ। दया गरी मलाई यी मानिसहरूको अगाडि केही कुरा बोल्न दिनुहोस्।” सेनापतिले आज्ञा दिए अनि पावलले सिंढीमा उभिएर हातले मानिसहरूलाई शान्त हुने इशारा गरे। मानिसहरू शान्त भएपछि पावल हिब्रू भाषामा बोल्न थाले
प्रेरित 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 21:27-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू