YouVersion लोगो
खोज आइकन

प्रेरित 17:1-9

प्रेरित 17:1-9 सरल नेपाली

पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनिया सहरबाट भएर थेसलोनिके सहरमा पुगे। त्‍यहाँ यहूदीहरूको सभाघर थियो। सधैँजस्‍तो गरेर पावल त्‍यस सभाघरमा पनि गए। उनले त्‍यहाँ तीन हप्‍तासम्‍म पवित्र विश्राम दिनैपिच्‍छे धर्मशास्‍त्रका कुरा लिएर तिनीहरूसँग बहस गरे। उनले धर्मशास्‍त्रबाट प्रमाण दिएर तिनीहरूलाई यसरी बुझाए, “मुक्ति दिनुहुने राजा ख्रीष्‍टले दु:ख भोगेर मर्नुपर्थ्‍यो र बिउँतनुपर्थ्‍यो अनि मैले प्रचार गरेको येशू नै त्‍यही मुक्ति दिनुहुने ख्रीष्‍ट हुनुहुन्‍छ।” यसरी केही यहूदीहरूले प्रभुमा विश्‍वास गरे र त्‍यसै गरी परमेश्‍वरको भक्ति गर्ने धेरै ग्रीकहरू र नाउँ चलेका निक्‍कै स्‍त्रीहरू पनि प्रभुमा विश्‍वास गरेर पावल र सिलाससँग लागे। तर अरू यहूदीहरूले चाहिँ उनीहरूको डाह गरे अनि गल्‍लीका गुण्‍डाहरूलाई भेला गरेर सहरमा उपद्रव गर्न लगाए। तिनीहरूले पावल र सिलासलाई भीडको अगाडि ल्‍याएर उभ्‍याउन यासोनको घरतिर दगुरे। तर तिनीहरूले पावल र सिलासलाई त्‍यहाँ भेट्टाएनन्। त्‍यसो हुँदा तिनीहरूले यासोन र प्रभुमा विश्‍वास गर्ने अरू दाजुभाइहरूलाई नै लछारपछार पार्दै लगे। उनीहरूलाई सहरका हाकिमहरूकहाँ पुर्‍याएर कराउँदै भने, “संसारभरि उत्‍पात मच्‍चाउने मानिसहरू अहिले हाम्रो सहरमा पनि आइपुगेका छन्। यस यासोनले यिनीहरूलाई आफ्‍नो घरमा पालेर राखेको रहेछ। तिनीहरू रोमी महाराजाका हुकुमलाई नटेरी येशू भन्‍ने अर्कै राजा छन् भनेर भन्‍छन्।” यो सुनेर भीड र सहरका हाकिमहरू अन्‍योलमा परे। आखिरमा हाकिमहरूले यासोन र अरूहरूलाई धरौटी लिएर छोडिदिए।

प्रेरित 17 पढ्नुहोस्

प्रेरित 17:1-9 को लागि भिडियो