पावल डर्बी सहर भएर लुस्त्रा सहरमा आइपुगे। लुस्त्रामा तिमोथी नाम गरेका प्रभुमा विश्वास गर्ने एउटा भाइ बस्दथे। उनकी आमा पनि प्रभुमा विश्वास गर्ने यहूदी थिइन् र बुबाचाहिँ ग्रीक थिए। लुस्त्रा र आइकोनियनमा भएका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्थे। पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्यो क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्ने कुरा थाहा थियो। त्यसपछि उनीहरू सहर-सहरमा गए र हरेक ठाउँमा भएका प्रभुका चेलाहरूलाई यरूशलेमका प्रेरित र मण्डलीका धर्म-गुरुहरूले निधो गरेका कुराहरू सुनाए अनि यी कुराहरू पालन गर्नू भन्ने अर्ती दिए। यसरी मण्डलीका मानिसहरूको विश्वास बलियो हुँदै गयो र दिनदिनै प्रभुमा विश्वास गर्ने मानिसहरू थपिए। पवित्र आत्माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए। माइसिया क्षेत्रको सिमानामा पुगेपछि उनीहरूले बिथिनिया क्षेत्रतिर जाने विचार गरे। तर येशूको आत्माले उनीहरूलाई त्यहाँ पनि जान दिनुभएन। त्यसो हुँदा तिनीहरू माइसिया भएर सोझै तल समुद्रको किनारमा परेको त्रोआस सहरमा झरे। त्यसै रात पावलले सपनामा प्रभुबाट दर्शन पाए। उनले माकेडोनिया इलाकाको एउटा मानिसले उभिएर यसरी बिन्ती गरेको देखे, “दया गरेर माकेडोनिया आइदिनुहोस् र हामीलाई सहायता गर्नुहोस्।” पावलले त्यस्तो दर्शन पाएपछि हामीहरू तुरुन्तै माकेडोनियातिर जान तयार भयौं किनभने त्यहाँका मानिसहरूलाई प्रभुको सुसमाचार सुनाउन परमेश्वरले नै बोलाउनुभएको हो भन्ने कुरा हामीहरूलाई थाहा भयो। त्रोआसमा पानीजहाज चढेर हामी सोझै पारि सामोथ्राके टापुतिर लाग्यौं। भोलिपल्ट नियापोलिस सहरमा पुग्यौं। त्यहाँबाट जमिनको बाटो भएर माकेडोनिया इलाकाको मुख्य सहर फिलिप्पीतिर गयौं। त्यो सहरचाहिँ रोमीहरूको अधीनमा थियो। त्यहाँ हामी केही दिनसम्म बस्यौं। नदीको किनारमा यहूदीहरूको प्रार्थना गर्ने ठाउँ होला भन्ने सम्झेर हामी विश्रामको दिन त्यहाँ गयौं अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग कुरा गर्न लाग्यौं। हाम्रा कुरा सुन्नेहरूमध्ये लिडिया नाउँ भएकी एक जना स्त्री थिइन्। उनी थिआटीरा भन्ने ठाउँबाट आएर फिलिप्पीमा बैजनी रङ्गको लुगाहरूको व्यापार गर्थिन्। लिडिया परमेश्वरलाई पुज्ने स्त्री थिइन्। पावलले भनेका कुरामा ध्यान दिनलाई प्रभुले उनको मन खोलिदिनुभयो। विश्वास गरेर लिडियाले र उनका घरानाले बप्तिस्मा लिए। त्यसपछि उनले हामीलाई आफ्नो घरमा बस्ने अनुरोध गर्दै भनिन्, “यदि तपाईंहरूले मलाई साँच्चै प्रभुमा विश्वास गरेकी बहिनी सम्झनुहुन्छ भने हाम्रो घरमा आएर हामीसँग बसिदिनुहोस्।” यसरी उनले हामीलाई उनको घरमा जान कर लगाइन्।
प्रेरित 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 16:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू