YouVersion लोगो
खोज आइकन

प्रेरित 16:1-10

प्रेरित 16:1-10 सरल नेपाली

पावल डर्बी सहर भएर लुस्‍त्रा सहरमा आइपुगे। लुस्‍त्रामा तिमोथी नाम गरेका प्रभुमा विश्‍वास गर्ने एउटा भाइ बस्‍दथे। उनकी आमा पनि प्रभुमा विश्‍वास गर्ने यहूदी थिइन् र बुबाचाहिँ ग्रीक थिए। लुस्‍त्रा र आइकोनियनमा भएका प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्‍थे। पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्‍यो क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्‍ने कुरा थाहा थियो। त्‍यसपछि उनीहरू सहर-सहरमा गए र हरेक ठाउँमा भएका प्रभुका चेलाहरूलाई यरूशलेमका प्रेरित र मण्डलीका धर्म-गुरुहरूले निधो गरेका कुराहरू सुनाए अनि यी कुराहरू पालन गर्नू भन्‍ने अर्ती दिए। यसरी मण्‍डलीका मानिसहरूको विश्‍वास बलियो हुँदै गयो र दिनदिनै प्रभुमा विश्‍वास गर्ने मानिसहरू थपिए। पवित्र आत्‍माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्‍नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए। माइसिया क्षेत्रको सिमानामा पुगेपछि उनीहरूले बिथिनिया क्षेत्रतिर जाने विचार गरे। तर येशूको आत्‍माले उनीहरूलाई त्‍यहाँ पनि जान दिनुभएन। त्‍यसो हुँदा तिनीहरू माइसिया भएर सोझै तल समुद्रको किनारमा परेको त्रोआस सहरमा झरे। त्‍यसै रात पावलले सपनामा प्रभुबाट दर्शन पाए। उनले माकेडोनिया इलाकाको एउटा मानिसले उभिएर यसरी बिन्‍ती गरेको देखे, “दया गरेर माकेडोनिया आइदिनुहोस् र हामीलाई सहायता गर्नुहोस्।” पावलले त्‍यस्‍तो दर्शन पाएपछि हामीहरू तुरुन्‍तै माकेडोनियातिर जान तयार भयौं किनभने त्‍यहाँका मानिसहरूलाई प्रभुको सुसमाचार सुनाउन परमेश्‍वरले नै बोलाउनुभएको हो भन्‍ने कुरा हामीहरूलाई थाहा भयो।

प्रेरित 16 पढ्नुहोस्

प्रेरित 16:1-10 को लागि भिडियो