प्रेरित 16:1-10
प्रेरित 16:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पावल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए। लुस्त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो। तिनलाई पावलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो। अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए। यसरी मण्डलीहरू विश्वासमा दह्रिला हुँदै र संख्यामा दिनहुँ बढ्दैगए। पवित्र आत्माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन। तब माइसिया भएर तिनीहरू त्रोआसमा गए। राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्।” जब तिनले यो दर्शन पाए, तुरुन्तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनुभएको रहेछ।
प्रेरित 16:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए। लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे। पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्ने थाहा थियो। तिनीहरू सहर-सहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए। यसरी मण्डलीहरू विश्वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो। एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए। जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन। त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे। रातको समयमा म्यासिडोनियाका एक जना मानिसले उभिएर पावललाई यसरी बिन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस्।” पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्वरले हामीलाई बोलाउनुभएको हो भन्ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ।
प्रेरित 16:1-10 पवित्र बाइबल (NERV)
पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्। उनको बाबु ग्रीक थिए। लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे। पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे। तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने। यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो। पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन। यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए। त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस् अनि हामीलाई सहयोग गर्नुहोस्!” पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
प्रेरित 16:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पावल डर्बी सहर भएर लुस्त्रा सहरमा आइपुगे। लुस्त्रामा तिमोथी नाम गरेका प्रभुमा विश्वास गर्ने एउटा भाइ बस्दथे। उनकी आमा पनि प्रभुमा विश्वास गर्ने यहूदी थिइन् र बुबाचाहिँ ग्रीक थिए। लुस्त्रा र आइकोनियनमा भएका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्थे। पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्यो क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्ने कुरा थाहा थियो। त्यसपछि उनीहरू सहर-सहरमा गए र हरेक ठाउँमा भएका प्रभुका चेलाहरूलाई यरूशलेमका प्रेरित र मण्डलीका धर्म-गुरुहरूले निधो गरेका कुराहरू सुनाए अनि यी कुराहरू पालन गर्नू भन्ने अर्ती दिए। यसरी मण्डलीका मानिसहरूको विश्वास बलियो हुँदै गयो र दिनदिनै प्रभुमा विश्वास गर्ने मानिसहरू थपिए। पवित्र आत्माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए। माइसिया क्षेत्रको सिमानामा पुगेपछि उनीहरूले बिथिनिया क्षेत्रतिर जाने विचार गरे। तर येशूको आत्माले उनीहरूलाई त्यहाँ पनि जान दिनुभएन। त्यसो हुँदा तिनीहरू माइसिया भएर सोझै तल समुद्रको किनारमा परेको त्रोआस सहरमा झरे। त्यसै रात पावलले सपनामा प्रभुबाट दर्शन पाए। उनले माकेडोनिया इलाकाको एउटा मानिसले उभिएर यसरी बिन्ती गरेको देखे, “दया गरेर माकेडोनिया आइदिनुहोस् र हामीलाई सहायता गर्नुहोस्।” पावलले त्यस्तो दर्शन पाएपछि हामीहरू तुरुन्तै माकेडोनियातिर जान तयार भयौं किनभने त्यहाँका मानिसहरूलाई प्रभुको सुसमाचार सुनाउन परमेश्वरले नै बोलाउनुभएको हो भन्ने कुरा हामीहरूलाई थाहा भयो।