YouVersion लोगो
खोज आइकन

प्रेरित 13:44-52

प्रेरित 13:44-52 सरल नेपाली

अर्को विश्रामको दिन सुसमाचार सुन्‍न सहरका प्राय: सबै मानिसहरू उल्‍टेर आए। यहूदीहरूले मानिसहरूको त्‍यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे। तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्‍वरको सुसमाचार सुनाउनुपर्थ्‍यो, तर तपाईंहरूचाहिँ सुन्‍न मान्‍नुहुन्‍न। तपाईंहरू आफैंलाई अजम्‍मरी जीवनको अयोग्‍य तुल्‍याउनुहुन्‍छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्‍छौं। प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ– पृथ्‍वीको पल्‍लो छेउसम्‍मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्‍यालो छर्नलाई खटाएर पठाएको छु।” यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्‍वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्‍वरबाट चुनिएका जतिले येशू ख्रीष्‍टमाथि विश्‍वास गरे। परमेश्‍वरको वचन त्‍यस क्षेत्रमा सबैतिर फैलियो। तर यहूदीहरूले परमेश्‍वरको भक्ति गर्ने उच्‍च श्रेणीका स्‍त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्‍यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए। तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्‍वरले नै न्‍याय गर्नुहुनेछ भन्‍ने चेतावनी दिँदै आफ्‍ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए। तिनीहरूले छोडेर गएका प्रभुका चेलाहरूचाहिँ पवित्र आत्‍माले आनन्‍दले भरिए।

प्रेरित 13 पढ्नुहोस्

Video for प्रेरित 13:44-52