YouVersion लोगो
खोज आइकन

प्रेरित 13:44-52

प्रेरित 13:44-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अर्को शबाथमा झण्‍डै सम्‍पूर्ण सहर परमेश्‍वरको वचन सुन्‍नलाई उल्‍टेर आयो। भीड़लाई देख्‍दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्‍डन गरे, र तिनको निन्‍दा गरे। तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्‍वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्‍यक थियो। तपाईंहरूले यसलाई इन्‍कार गरी आफैलाई अनन्‍त जीवनको अयोग्‍य ठहराउनुभएकोले हामी अब अन्‍यजातिहरूकहाँ जानेछौं। किनकि प्रभुले हामीलाई यस्‍तो आज्ञा दिनुभएको छ, ‘पृथ्‍वीको पल्‍लो छेउसम्‍म मुक्ति पुर्‍याउन मैले तिमीलाई अन्‍यजातिहरूका निम्‍ति ज्‍योति हुन नियुक्त गरेको छु’।” जब अन्‍यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्‍वरको वचनको प्रशंसा गरे, र अनन्‍त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्‍वास गरे। प्रभुको वचन सबै इलाकाभरि फैलियो। तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्‍ठित स्‍त्रीहरू र सहरका मुख्‍य-मुख्‍य मानिसहरूलाई उक्‍साए, र उनीहरूलाई आफ्‍नो साँधसिमाना बाहिर कटाइदिए। तर उनीहरूचाहिँ आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्‍याएर, आइकोनियनमा आए। चेलाहरू आनन्‍द र पवित्र आत्‍माले परिपूर्ण भए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:44-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रभुको वचन सुन्‍न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो। जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे। त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्‍वरको वचन भन्‍नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ। किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्‍याउन सक।’ ” यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्‍वास गरे। प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो। तर यहूदीहरूले प्रभुको भय मान्‍ने माथिल्‍ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए। तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए। अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:44-52 पवित्र बाइबल (NERV)

अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं। यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’” जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए। अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो। तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:44-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अर्को विश्रामको दिन सुसमाचार सुन्‍न सहरका प्राय: सबै मानिसहरू उल्‍टेर आए। यहूदीहरूले मानिसहरूको त्‍यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे। तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्‍वरको सुसमाचार सुनाउनुपर्थ्‍यो, तर तपाईंहरूचाहिँ सुन्‍न मान्‍नुहुन्‍न। तपाईंहरू आफैंलाई अजम्‍मरी जीवनको अयोग्‍य तुल्‍याउनुहुन्‍छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्‍छौं। प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ– पृथ्‍वीको पल्‍लो छेउसम्‍मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्‍यालो छर्नलाई खटाएर पठाएको छु।” यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्‍वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्‍वरबाट चुनिएका जतिले येशू ख्रीष्‍टमाथि विश्‍वास गरे। परमेश्‍वरको वचन त्‍यस क्षेत्रमा सबैतिर फैलियो। तर यहूदीहरूले परमेश्‍वरको भक्ति गर्ने उच्‍च श्रेणीका स्‍त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्‍यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए। तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्‍वरले नै न्‍याय गर्नुहुनेछ भन्‍ने चेतावनी दिँदै आफ्‍ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए। तिनीहरूले छोडेर गएका प्रभुका चेलाहरूचाहिँ पवित्र आत्‍माले आनन्‍दले भरिए।

शेयर गर्नुहोस्
प्रेरित 13 पढ्नुहोस्