YouVersion लोगो
खोज आइकन

प्रेरित 13:1-25

प्रेरित 13:1-25 सरल नेपाली

एन्‍टिओखिया सहरको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षा दिने मानिसहरू निकै थिए। तिनीहरू बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, राजा हेरोदसँगै हुर्केका मनेन अनि शाऊल थिए। तिनीहरू उपवास बसेर प्रार्थना र प्रभुको आराधना गरिरहेका बेलामा पवित्र आत्‍माले तिनीहरूलाई भन्‍नुभयो, “सुन, बारनाबास र शाऊललाई मैले जुन कामको लागि चुनेको छु, त्‍यही कामको लागि छुट्ट्याओ।” तिनीहरूले फेरि उपवास बसे र प्रार्थना गर्दै ती दुई जनामाथि आफ्‍ना हात राखे र तिनीहरूलाई प्रभुको काममा पठाए। पवित्र आत्‍माले पठाउनुभएका बारनाबास र शाऊल एन्‍टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्‍यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए। सलामिस सहरमा पुगेर यहूदीहरूका सभाघरहरूभित्र पसी तिनीहरूले परमेश्‍वरको वचन सुनाउन लागे। त्‍यो काममा सघाउन तिनीहरूले मर्कूस भनिने यूहन्‍नालाई पनि साथमा लगेका थिए। पूरै साइप्रस टापुको यात्रा गरेपछि तिनीहरू पाफोस भन्‍ने सहरमा आइपुगे। त्‍यहाँ तिनीहरूले एउटा बार-येशू भन्‍ने यहूदी जादूगरलाई भेटे। उसले आफैंलाई म अगमवक्ता हुँ भन्‍थ्‍यो। त्‍यो जादूगर साइप्रस टापूको बडा-हाकिम सर्गियस पौलुसको घरमा गइरहन्‍थ्‍यो। सर्गियस पौलुसचाहिँ एउटा बुद्धिमान् व्‍यक्ति थिए। तिनलाई परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा भएको हुनाले बारनाबास र शाऊललाई बोलाउन पठाए। तर एलुमास जादूगरले (ग्रीक भाषामा यसको अर्थ यस्‍तै हुन्‍छ) बारनाबास र शाऊललाई बाधा दिएर बडा-हाकिमलाई विश्‍वासबाट फर्काउन खोज्‍यो। शाऊलले (जसलाई पावल पनि भनिन्‍छ) पवित्र आत्‍माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने, “तँ सबै असल कुराको शत्रु अनि दुष्‍ट चाल र धुर्त्‍याइँले भरिएको शैतानको बच्‍चा होस्। के तँ प्रभुको सोझो बाटोलाई बङ्ग्‍याउन कहिल्‍यै छोड्दैनस्? अब हेर्‌, प्रभुको सजाय तँमाथि परेको छ। तँ अन्‍धो भएर केही समयसम्‍म घामको उज्‍यालो पनि देख्‍नेछैनस्!” त्‍यति नै खेर त्‍यसको आँखामा कालो बादलजस्‍तो लाग्‍यो अनि त्‍यो अन्‍धो भइहाल्‍यो र हातले यताउता सहारा खोज्‍न लाग्‍यो। प्रभुको शिक्षामा भएको शक्ति देखेर बडा-हाकिम छक्‍क परे अनि उनले प्रभुमाथि विश्‍वास गरे। पावल र तिनका साथीहरू पाफोस सहरबाट पानीजहाजमा चढेर पामफिलिया क्षेत्रको पर्गा सहरमा पुगे। त्‍यहाँबाट मर्कूस भनिने यूहन्‍नाले पावल र बारनाबासलाई छोडेर यरूशलेमतिर फर्के। पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्‍टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे। मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले लेखेको पुस्‍तकबाट पढेपछि सभाघरका नेताहरूले पावल र बारनाबासलाई बोलाएर भने, “भाइहरू! यदि तपाईंहरूसित मानिसहरूलाई साहस दिने केही कुरो छ भने भन्‍नुहोस्।” यो सुनेर पावल उठे अनि हातले इशारा गरेर बोल्‍न लागे, “इस्राएली दाजुभाइ र परमेश्‍वरलाई मान्‍नुहुने सज्‍जनहरू हो, दया गरी मेरो कुरा सुन्‍नुहोस्। इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई छान्‍नुभयो र तिनीहरू मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् जाति बनाउनुभयो। आफ्‍नो शक्ति देखाएर परमेश्‍वरले तिनीहरूलाई मिश्रदेशबाट निकाल्‍नुभयो। तिनीहरू उजाड-स्थानमा रहँदा परमेश्‍वरले चालीस वर्षसम्‍म तिनीहरूको हेरचाहा गर्नुभयो। उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्‍यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो। त्‍यति बेलासम्‍म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्‍यसपछि परमेश्‍वरले तिनीहरूको बीचमा न्‍याय गर्न न्‍यायाधीशहरू खटाउनुभयो। ती न्‍यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्‍म काम गरे। त्‍यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्‍वरले उनीहरूलाई बेन्‍यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्‍म राज्‍य गरे। परमेश्‍वरले उनलाई हटाएर दाऊदलाई राजा बनाउनुभयो। दाऊदको बारेमा चाहिँ परमेश्‍वरले यसरी भन्‍नुभएको छ, ‘यिशैको छोरा दाऊदलाई भेट्टाउँदा मैले मन पराएको मानिस पाएको छु। उसले मेरो लागि गर्नुपर्ने सबै काम पूरा गर्नेछ’। “आफूले गर्नुभएको प्रतिज्ञा पूरा गरेर परमेश्‍वरले इस्राएलीहरूको निम्‍ति दाऊद राजाको कुलमा नै एउटा मुक्तिदाता पठाउनुभयो, जो येशू हुनुहुन्‍छ। येशूले आफ्‍नो सेवा सुरु गर्नुभन्दा अघि बप्‍तिस्‍मा दिने यूहन्‍ना आए। उनले चाहिँ आ-आफ्‍ना पापलाई मानिलिएर छोडी पानीको बप्‍तिस्‍मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे। आफ्‍नो काम सिध्‍याउन लाग्‍दा यूहन्‍नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्‍न चाहन्‍छौ, त्‍यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्‍छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’।

प्रेरित 13 पढ्नुहोस्

Video for प्रेरित 13:1-25