YouVersion लोगो
खोज आइकन

प्रेरित 13:1-25

प्रेरित 13:1-25 NNRV

एन्‍टिओखियाको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात्‌ बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्‍तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्‍माले भन्‍नुभयो, “मेरो निम्‍ति बारनाबास र शाऊललाई त्‍यस कामको लागि अलग्‍ग गर, जुन कामको निम्‍ति मैले तिनीहरूलाई बोलाएको छु।” तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्‍ना हात राखेर उनीहरूलाई बिदा दिए। तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्‍ना तिनीहरूसँग थिए। जब तिनीहरू समस्‍त टापूको यात्रा गर्दै पाफोससम्‍म आइपुगे, तब त्‍यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्‍ने एक जना जादूगरलाई भेट्टाए। त्‍यो जादूगर एउटा प्रान्‍तका शासक सर्गियस पौलससँग बस्‍तथियो। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्‍वरको वचन सुन्‍ने इच्‍छा गरे। तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो। तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे, “तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्‍पूर्ण छल र दुष्‍टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्‌ग्‍याउन छोड्‌दैनस्‌? अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुनेछस्‌।” अनि उत्तिखेरै कुइरो र अन्‍धकारले त्‍यसलाई छोप्‍यो, र कसैले त्‍यसको हात पक्रेर डोर्‍याइदेला कि भनेर त्‍यो यताउता जान लाग्‍यो। तब प्रान्‍तका ती शासकले यो भएको देखेर विश्‍वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्‍क परेका थिए। पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के। तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे। अब व्‍यवस्‍था र अगमवक्ताका पुस्‍तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्‍ति अर्तीको वचन केही छ भने भन्‍नुहोस्‌।” तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्, इस्राएल जातिका परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान्‌ तुल्‍याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्‍यस देशबाट निकाली ल्‍याउनुभयो। उजाड-स्‍थानमा प्राय: चालीस वर्षसम्‍म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो। “यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो। त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो। उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’ “यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो। उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए। यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’

Video for प्रेरित 13:1-25