स्तिफनसलाई मारेपछि प्रभु येशूमा विश्वास गर्नेहरूलाई खेदो भएको हुनाले धेरै जना भागे र कति जना फोनिके क्षेत्रमा पुगे, कति जना साइप्रस टापू र कति जना एन्टिओखिया सहरसम्म पनि पुगे। सुरुमा तिनीहरूले सुसमाचार खालि यहूदीहरूलाई सुनाए। तर पछि साइप्रस टापु र कुरेनी देशबाट आएका प्रभु येशूका केही चेलाहरूले चाहिँ एन्टिओखियामा आएर अरू जातिका मानिसहरूलाई पनि शिक्षा दिँदै प्रभु येशूको बारेमा सुनाए। प्रभुको शक्ति तिनीहरूसँगै थियो र धेरै मानिसहरू विश्वास गरेर प्रभुका चेला बने। जब यो खबर यरूशलेमको मण्डलीमा पुग्यो, तब मण्डलीका अगुवाहरूले बारनाबासलाई एन्टिओखियामा पठाइदिए। एन्टिओखियामा आइपुग्दा परमेश्वरले ती मानिसहरूलाई दया गर्नुभएको र आशिष् दिनुभएको देखेर बारनाबास साह्रै खुसी भए। उनले तिनीहरूलाई प्रभुप्रति पूरा हृदयले विश्वासी भइरहनू भनी उत्साह दिए। बारनाबासचाहिँ पवित्र आत्मा र विश्वासले भरपूर भएका असल मानिस थिए र उनले गर्दा धेरै मानिसहरूले प्रभुलाई विश्वास गरे। त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्सस सहरतिर लागे। शाऊललाई टार्ससमा भेटेर एन्टिओखिया सहरमा ल्याए। दुवैले वर्ष दिनसम्मै एन्टिओखिया मण्डलीका मानिसहरूसँग संगति गर्दै धेरैलाई सिकाए। एन्टिओखियामा नै सबैभन्दा पहिले ख्रीष्टका चेलाहरूलाई ख्रीष्टियान भनिएको हो। त्यस समयमा परमेश्वरको तर्फबाट बोल्ने केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। तिनीहरूमध्ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्माले उनलाई पृथ्वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्लौडियसको पालामा त्यो अनिकाल आयो।) अगाबसको भविष्यवाणी सुनेर प्रभुका चेलाहरूले यहूदिया क्षेत्रमा भएका दाजुभाइहरूलाई आफ्नो औकातअनुसार पैसा पठाउने विचार गरे। यसरी उठाएको पैसा उनीहरूले यरूशलेम मण्डलीका धर्म-गुरुहरूलाई बारनाबास र शाऊलको हातबाट पठाइदिए।
प्रेरित 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 11:19-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू