त्यसपछि योआब र दाऊदका अन्य अधिकारीहरूले छापा मारेर धेरै लुटका सामान लिई फर्के। त्यस बेला अबनेर दाऊदसित हेब्रोनमा थिएनन् किनकि तिनलाई शान्ति-सुरक्षाको वचन दिई दाऊदले बिदा गरिसकेका थिए। जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने। यसर्थ राजाकहाँ गई योआबले भने, “हजुरले के गर्नुभएको? अबनेर हजुरकहाँ आएका रहेछन्, हजुरले किन त्यसरी छोडिदिनुभयो? तिनी त यहाँ हजुरलाई छल्न र हजुरले के-कसो गर्नुहुन्छ र कहाँ जानुहुन्छ, सो बुझ्न आएका थिए। हजुरलाई यो कुरा याद हुनुपर्ने हो!” दाऊदसित बिदा भएपछि योआबले अबनेरलाई बोलाउन दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर दाऊदलाई यसबारे केही थाहा भएन। जब अबनेर हेब्रोनमा आइपुगे, तिनीसित एकान्तमा केही कुरा गर्ने बहाना गरी योआबले तिनलाई ढोकाको एक छेउमा लगे र त्यहाँ तिनको भुँडीमा तरवार रोपिदिए किनभने अघि तिनले योआबको भाइ असाहेललाई मारेका थिए र त्यसरी बदलामा अबनेर मारिए। दाऊदले त्यो खबर पाए र भने, “परमप्रभु जान्नुहुन्छ कि म र मेरा प्रजा अबनेरको हत्यामा निर्दोष छौं। त्यसको दण्ड योआब र त्यसका परिवारमाथि परोस्! तिनको सन्तानको हरेक पुस्तामा कुष्ठरोग वा घाउ-खटिराले ग्रस्त वा स्त्रीको काम मात्र गर्न लायक, दुर्बल वा लडाइँमा मारिने वा खानाको अभाव भएको केही न केही व्यक्ति भइरहोस्!” यसरी योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे किनकि तिनीहरूको भाइ असाहेललाई गिबोनको लडाइँमा अबनेरले मारेका थिए। तब दाऊदले योआब र तिनका मानिसहरूलाई अबनेरको निम्ति शोक गरेर आफ्ना लुगा च्यातेर भाङ्ग्रा पहिरिने आज्ञा दिए। मलामीमा दाऊद राजा आफैं लाशको पछिपछि हिँडे। हेब्रोनमा अबनेरलाई गाडे र चिहानमा दाऊद राजा उच्च सोरले रोए र तिनीसँग सबै मानिसहरू पनि रोए। र अबनेरको निम्ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्यो? तिनका हात बाँधिएका थिएनन्, तिनका पाउ पनि बाँधिएका थिएनन्; तिनी अपराधीका हातबाट मारिए!” फेरि मानिसहरू पनि अबनेरको निम्ति रोए। दिनभरि मानिसहरूले दाऊदलाई केही भोजन गराउने चेष्टा गरे; तर तिनले यस्तो गम्भीर शपथ खाए, “सूर्य अस्ताउनुभन्दा अघि मैले केही कुरा खाएँ भने परमेश्वरले मेरो प्राण लेऊन्!” मानिसहरूले कुरा बुझे र सन्तोष माने। वास्तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्थे। अबनेरको हत्यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे। राजाले आफ्ना भारदारहरूलाई भने, “आज इस्राएलका एक महान् अगुवा मरे भनी के तिमीहरू थाहा पाउँदैनौ? म परमेश्वरले चुन्नुभएको राजा हुँ तापनि आज कमजोर अनुभव गर्दछु। सरूयाहका यी छोराहरू मेरो निम्ति अति नै भएका छन्। परमप्रभुले यी अपराधीहरूलाई उचित दण्ड देऊन्!”
२ शमूएल 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 3:22-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू