बीस वर्ष उमेर छँदा आहाज राजा भए र सोह्र वर्ष उनले यरूशलेममा राज्य गरे। उनले आफ्ना पुर्खा दाऊद राजाका असल उदाहरण पछ्याएनन्। त्यसका सट्टामा जे कुराले परमप्रभुलाई अप्रसन्न गराउँथ्यो, त्यही तिनले गरे। उनले इस्राएलका राजाहरूका नकल गरे, बाल देवताका मूर्ति बनाउन लगाए, बेन-हिन्नोमको बेसीमा धूप बाले र त्यस देशमा इस्राएलीहरू अघि बढेर आउँदा जुन मानिसहरूलाई परमप्रभुले त्यहाँबाट धपाउनुभएको थियो, तिनीहरूका घिनलाग्दा रीतिथिति नकल गरी आफ्नै छोराहरू पनि उनले बलि चढाए। मूर्तिपूजकहरूका आराधना-स्थल, डाँडा र छाया पार्ने रूखहरूमुनि आहाजले बलि चढाए र धूप बाले। आहाज राजाले पाप गरेका हुनाले परमप्रभु उनका परमेश्वरले अरामका राजाका हातमा उनको हार गराउनुभयो र धेरै जना यहूदावासीहरूलाई कैद गरी दमस्कसमा लैजान दिनुभयो। परमप्रभुले इस्राएलका राजा रमल्याहका छोरा पेकहले पनि आहाजको हार गराई एक दिनमा एक लाख बीस हजार यहूदाका सबैभन्दा साहसी सैनिकहरूलाई मारे। परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले यी कुरा हुन दिनुभयो किनभने यहूदाका मानिसहरूले उहाँलाई त्यागेका थिए। एक जना जिक्री नाम गरेको इस्राएली सिपाहीले आहाज राजाका छोरा मासेयाह, राजमहलमा रेख-देख गर्ने अधिकारी अज्रीकाम र राजापछि दोस्रो दर्जामा भएका एल्कानालाई मारे। यहूदावासीहरू आफ्नै स्वजाति भए पनि इस्राएली सेनाले दुई लाख स्त्री र केटा-केटीहरूलाई कैद गरी सामरियामा लगे र साथै धेरै लुटका सामान पनि लगे। सामरिया सहरमा ओदेद नाम भएका परमप्रभुका एक जना अगमवक्ता थिए। यहूदाबाट कैदीहरू लिएर आएका इस्राएली सेना सहरमा प्रवेश गर्न लाग्दा ओदेदले तिनीहरूलाई भेटे र यसो भने, “परमप्रभु तिम्रा पुर्खाका परमेश्वर यहूदासित रिसाउनुभएको थियो र तिम्रा हातमा तिनीहरूको हार गराउनुभयो तर अब कस्तो दुष्ट प्रकारले तिमीहरूले तिनीहरूलाई संहार गर्यौ, त्यो उहाँले जान्नुभएको छ। तिमीहरू अब यरूशलेम र यहूदाका पुरुष र स्त्रीहरूलाई आफ्ना चाकर-चाकरनी बनाउन चाहन्छौ। के तिमीहरूलाई थाहा छ, तिमीहरूले पनि परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरेका छौ? मेरो कुरा सुन। यी कैदीहरू तिमीहरूका भाइ-बहिनी हुन्। तिनीहरूलाई छोडिदेओ नत्र परमप्रभुले आफ्नो क्रोधमा तिमीहरूलाई दण्ड दिनुहुनेछ।” उत्तरी राज्यका चार जना मुख्य अगुवाहरूले पनि सेनाका कामको विरोध गरे। यी अगुवाहरू येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैको छोरो अमासा थिए। तिनीहरूले भने, “ती कैदीहरूलाई यहाँ नल्याओ! हामीले परमप्रभुको विरुद्धमा पाप गरेर अघि नै परमेश्वरका क्रोध र दण्ड आफूमा ल्याइसकेका छौं। अब आफ्ना अपराध अझ बढाउने काम गर्न चाहन्छौ?” तब सेनाले कैदी र लुटका सामानहरू मानिसहरू र तिनका अगुवाहरूलाई सुम्पिदिए। ती चार जना अगुवाहरूलाई लुटका सामानबाट कैदीहरूलाई लाउने वस्त्र दिन खटाए। तिनीहरूले ती कैदीहरूलाई लाउने वस्त्र र जुत्ताहरू, खान-पिउनलाई पुग्दो खानेकुरा दिए र तिनका चोटमा जैतुनका तेल लाइदिए। हिंड्न नसक्ने भई कमजोर भएकाहरूलाई गधामा चढाए र सबै कैदीहरूलाई यहूदा देशको यरीहो सहर अर्थात् खजूरहरूको सहरमा फर्काइलगे। त्यसपछि इस्राएलीहरू सामरियामा आ-आफ्ना घरमा फर्के।
२ इतिहास 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 28:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू