YouVersion लोगो
खोज आइकन

२ इतिहास 19

19
एक जना अगमवक्ताले यहोशापातलाई झपार्छन्‌
1यहूदाका राजा यहोशापात कुशलसाथ आफ्‍ना राजमहलमा यरूशलेममा फर्के। 2हनानीका छोरा येहू अगमवक्ता राजालाई भेट्‍न गए र उनलाई भने, “दुष्‍टहरूलाई मद्दत गर्न र परमप्रभुलाई घृणा गर्नेहरूपट्टि लाग्‍नु ठीक छ भनी के तपाईं सोच्‍नुहुन्‍छ? तपाईंले जे गर्नुभयो, त्‍यसको कारणले आफूमाथि परमप्रभुको क्रोध ल्‍याउनुभयो। 3तरै पनि तपाईंको केही असल कुरा छ। मानिसहरूले पुजेका अशेरा-देवीका मूर्तिहरू सबै तपाईंले नै हटाउनुभयो र तपाईंले परमेश्‍वरको इच्‍छा पालन गर्ने चेष्‍टा गर्नुभएको छ।”
यहोशापातले गरेका सुधारहरू
4यहोशापात राजा यरूशलेममा बास गर्थे तापनि पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काई ल्‍याउनलाई तिनी दक्षिणमा बेर्शेबादेखि उत्तरमा एफ्राइमको पहाडी देशका किनारासम्‍म मानिसहरूकहाँ सधैँ जान्थे। 5यहूदाको प्रत्‍येक सुरक्षित सहरमा उनले न्‍यायकर्ताहरू खटाए 6र तिनीहरूलाई यस्‍तो आदेश दिए, “फैसला सुनाउँदा होशियार रहनू। तिमीहरू मानिसका अधिकारले होइन; तर परमप्रभुको अधिकारले आफ्‍नो काम गर्छौ। तिमीहरूले फैसला दिंदा उहाँ तिमीहरूसित हुनुहुन्‍छ। 7परमप्रभुको भय मान र होशियारीसित काम गर किनभने परमप्रभु हाम्रा परमेश्‍वरले अन्‍याय र पक्षपात गरेको वा घुस लिएको सहनुहुन्‍न।”
8यरूशलेममा यहोशापातले कति लेवी, पूजाहारी र प्रमुख नागरिकहरूलाई न्‍यायकर्ता खटाए। ती न्‍यायकर्ताहरूले परमप्रभुका व्‍यवस्‍था तोडेका वा सहरका बासिन्‍दाहरूका बीच भएका कानुनसम्‍बन्‍धी झगडाहरूको मुद्दा विचार गर्थे। 9उनले तिनीहरूलाई यस्‍तो आदेश दिए, “परमप्रभुको भय मानेर आफ्‍ना सबै काममा विश्‍वासयोग्‍यतासाथ उहाँका आज्ञापालन गर्दै तिमीहरूले आफ्‍नो काम सुरु गर्नुपर्छ। 10जब-जब तिम्रा नागरिक बन्‍धुहरूले कुनै पनि सहरबाट तिम्रा अघि ज्‍यानमारा वा अन्‍य कुनै नियम वा आज्ञा भङ्ग गरेका मुद्दाहरू लिएर आउँछन्, तब तिमीहरूले सावधानीसाथ तिनीहरूलाई मुद्दा चलेका बेलामा कस्‍तो व्‍यवहारले चल्‍नुपर्छ, सो सिकाउनुपर्छ र तिनीहरूलाई परमप्रभुको विरुद्धमा पाप गरे भन्‍ने दोष नलागोस्। नत्र तिमी र तिम्रा नागरिक बन्‍धुहरूले परमप्रभुको क्रोध भोग्‍नुपर्नेछ। तर तिमीहरूले आफ्‍ना कर्तव्‍य पूरा गर्‍यौ भने तिमीहरूलाई दोष लाग्‍नेछैन। 11सबै धार्मिक मुद्दामा मुख्‍य पूजाहारी अमर्याह सर्वोच्‍च न्‍यायकर्ता हुनेछन् र सबै सार्वजनिक मुद्दामा यहूदाका बडा-हाकिम इश्‍माएलका छोरा जबदियाह सर्वोच्‍च न्‍यायकर्ता हुनेछन्। न्‍यायकर्ताका निर्णयहरू पालन भएको हेर्ने जिम्‍मा लेवीहरूसँग रहनेछ। साहसी होओ र यी आदेशहरू पालन गर। परमप्रभु उचित कुराका पक्षमा रहून्!”

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 19: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्