YouVersion लोगो
खोज आइकन

२ इतिहास 18

18
मीकाया अगमवक्ताले आहाबलाई चेतावनी दिन्‍छन्
(१ राजा २२:१-२८)
1जब यहूदाका राजा यहोशापात धनी र प्रसिद्ध भए, उनले आफ्‍नो परिवार र इस्राएलका राजा आहाबको परिवारबीच विवाहबारी चलाए। 2धेरै वर्षपछि यहोशापात आहाबसित भेट गर्न सामरिया सहरमा गए। यहोशापात र उनीसित गएका मानिसहरूका आदर-सत्‍कार गरेर आहाबले भोजको निम्‍ति धेरै भेडा र गोरुहरू मार्न लाए। उनले यहोशापातलाई आफूसित मिलेर गिलादको रामोत सहरमाथि आक्रमण गर्न राजी पार्ने चेष्‍टा गरे। 3उनले सोधे, “के तपाईं मसित रामोतमाथि आक्रमण गर्न आउनुहुन्‍छ?”
यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म तयारै छु। मेरो सेना पनि तयार छ। हामी तपाईंसित एक हुनेछौं।” 4त्‍यसपछि उनले भने, “तर पहिले हामी परमप्रभुको सल्‍लाह लिऔं।”
5यसर्थ आहाबले चार सय जति अगमवक्ताहरूलाई बोलाएर सोधे, “म गएर रामोतमा आक्रमण गरूँ कि नगरूँ?”
तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्। परमेश्‍वरले तपाईंलाई विजय दिनुहुनेछ।”
6तर यहोशापातले सोधे, “परमप्रभुको सल्‍लाह लिनलाई अर्का कुनै अगमवक्ता छैनन्?”
7आहाबले जवाफ दिए, “एक जना छन्, यिम्‍लाको छोरो मीकाया। तर उनले कहिल्‍यै मेरो लागि असल अगमवाणी भनेनन् र म उनलाई घृणा गर्दछु। उनले सधैँ खराब अगमवाणी कहन्‍छन्।”
“तपाईंले त्‍यसो भन्‍नुहुन्‍न!” यहोशापातले भने।
8यसकारण आहाब राजाले एक जना महलका अधिकृतलाई बोलाएर झट्टै मीकायालाई बोलाएर ल्‍याउन पठाए।
9दुई जना आफ्‍ना राजकीय पोशाक पहिरिएर सामरियाको मूल-ढोकाको बाहिरपट्टि अन्‍न दाइँ गर्ने ठाउँमा आ-आफ्‍ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले उनका सामुन्‍नेमा अगमवाणी गरिरहेका थिए। 10तीमध्‍ये एक जना केनानको छोरो सिदकियाहले फलामका सिङहरू बनाए र आहाबलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यी सिङहरू लिएर तिमीहरूले अरामीसित लडाइँ गर्नेछौ र तिनीहरूलाई पूर्णरूपले जित्‍नेछौ’।” 11अरू सबै अगमवक्ताहरूले पनि त्‍यसै भने। “रामोतको विरुद्धमा कदम उठाउनुहोस्, जित तपाईंकै हो, परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ,” तिनीहरूले भने।
12यस बीचमा मीकायालाई लिन जाने अधिकृतले उनलाई भने, “अरू सबै अगमवक्ताहरूले राजाको विजय हुनेछ भनी अगमवाणी गरेका छन्, तपाईंले पनि त्‍यसै भन्‍नुहोला।”
13तर मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु, मेरा परमेश्‍वरले जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु!”
14जब उनी आहाब राजाको सामु आए, राजाले सोधे, “मीकाया, म र राजा यहोशापात गई रामोतमा आक्रमण गरौं कि नगरौं?”
मीकायाले जवाफ दिए, “आक्रमण गर्नुहोस्। निश्‍चय, तपाईंहरूले जित्‍नुहुनेछ।”
15तर आहाबले भने, “जब तिमी मसित बोल्‍दछौ, मलाई परमप्रभुको नाउँमा साँचो कुरा भन! कतिपल्‍ट यो कुरा मैले तिमीलाई भन्‍नुपर्छ?”
16 # गन्ती 27:17; इजकिएल 34:5; मत्ती 9:36; मर्कूस 6:34 मीकायाले जवाफ दिए, “म इस्राएलका सेनालाई गोठालाबिनाका भेडाझैँ डाँडाहरूमा छरिएका देख्‍दछु। अनि परमप्रभुले भन्‍नुभयो, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीहरू शान्‍तिसित आफ्‍ना घर जाऊन्’।”
17आहाबले यहोशापातलाई भने, “मैले तपाईंलाई अघि नै भनें कि यिनले कहिल्‍यै मलाई राम्रो अगमवाणी भन्‍दैनन्। सधैँ केही नराम्रो कुरा नै भन्‍छन्!”
18मीकायाले भने, “अब सुन्‍नुहोस्, परमप्रभु के भन्‍नुहुन्‍छ! मैले परमप्रभुलाई स्‍वर्गमा आफ्‍नो सिंहासनमा विराजमान हुनुभएको देखें। सबै स्‍वर्गदूतहरू उहाँका छेउमा खडा थिए। 19परमप्रभुले सोध्‍नुभयो, ‘कसले आहाबलाई छल्‍नेछ र त्‍यो रामोतमा जानेछ र मारिनेछ?’ कुनैकुनै स्‍वर्गदूतले एउटा कुरा भने र अरूहरूले अर्को कुरा भने। 20अन्‍तमा एउटा आत्‍मा अघि आएर परमप्रभुको छेउमा गए र भने, ‘म त्‍यसलाई छल्‍नेछु’। ‘कसरी?’ परमप्रभुले सोध्‍नुभयो। 21आत्‍माले उत्तर दिए, ‘म गएर आहाबका सबै अगमवक्ताहरूलाई झूट बोल्‍न लाउनेछु।’ परमप्रभुले भन्‍नुभयो, ‘जा र त्‍यसलाई त्‍यसरी नै छल्! तँ सफल हुनेछस्’।”
22अनि मीकायाले अन्‍तमा भने, “त्‍यसै भएको छ। परमप्रभुले यी तपाईंका अगमवक्ताहरूलाई झूट बोल्‍न लाउनुभएको छ। तर उहाँ आफैंले त तपाईंको विनाश गर्ने फैसला गरिसक्‍नुभएको छ!”
23तब सिदकियाह अगमवक्ता मीकायाको नजिक गए, उनका मुखमा थप्‍पड लाएर यसरी सोधे, “कहिलेदेखि परमप्रभुको आत्‍माले मलाई छोडेर तँसित बोल्‍न थाल्‍नुभयो?”
24“तिमी भित्र कोठामा लुक्‍न जानुपरेको बेला त्‍यो तिमीले थाहा पाउनेछौ।” मीकायाले उत्तर दिए।
25त्‍यसपछि आहाब राजाले आफ्‍ना एक जना अधिकृतहरूलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरको बडा-हाकिम आमोनकहाँ र राजकुमार योआशकहाँ लैजाऊ। 26त्‍यसलाई झ्‍यालखानमा थुन्‍न र म कुशलसाथ फर्की नआएसम्‍म रोटी र पानी मात्र खान दिन तिनीहरूलाई भन।”
27मीकायाले कराएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन!” उनले यो पनि भने, “मैले भनेका कुरा सबैले सुनिराख है!”
आहाबको मृत्‍यु
(१ राजा २२:२९-३५)
28त्‍यसपछि इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात एकसाथ गिलादमा रामोत सहर आक्रमण गर्न गए। 29आहाबले यहोशापातलाई भने, “हामी लडाइँमा जाँदा म गुप्‍त भेषमा जानेछु। तपाईं आफ्‍नो राजकीय पोशाक नै लाउनुहोस्।” यसरी इस्राएलका राजा गुप्‍त भेषमा लडाइँ गर्न गए।
30अरामका राजाले आफ्‍ना रथ सेनाका सेनापतिहरूलाई इस्राएलका राजा छोडी अरू कसैमाथि हमला नगर्नू भनी आज्ञा दिएका थिए। 31यसकारण तिनीहरूले यहोशापातलाई देखेर उनलाई नै इस्राएलका राजा हुन् भनिठाने र उनलाई हमला गर्न उनीपट्टि फर्के। तर यहोशापात जोडले चिच्‍च्‍याए र परमप्रभु परमेश्‍वरले उनलाई बचाउनुभयो र त्‍यो हमला उनीबाट पर अर्कोतिर पन्साइदिनुभयो। 32रथ सेनाका कप्‍तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाहा पाए र उनलाई खेद्‌न छोडे।
33तर एक अरामी सिपाहीले काँड हानेको काँड संयोगले आहाब राजाको झिलमको जोर्नीमा पस्‍यो। “म घाइते भएँ। रथ फर्का र रणभूमि छोडेर निस्‍की,” उनले चिच्‍च्‍याएर सारथिहरूलाई भने। 34घमासान लडाइँ भयो। आहाब राजा अरामीहरूतिर फर्केर रथमा अडिएर उभिरहे। घाम डुब्‍दा उनी मरे।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 18: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्