२ इतिहास 17
17
यहोशापात राजा हुन्छन्
1यहोशापात आफ्ना बुबा आसापछि राजा भए र इस्राएलका विरुद्धमा आफ्नो स्थिति बलियो बनाए। 2उनले यहूदाका सुरक्षित सहरहरू, यहूदाका गाउँ-बस्तीहरू र आसाले एफ्राइमका भूमिमा कब्जा गरेका सहरहरूमा आफ्नो फौज राखे। 3परमप्रभुले यहोशापातलाई आशीर्वाद दिनुभयो किनभने उनले आफ्ना बुबाले सुरु-सुरुमा चलेका चालमा हिंडे र बाल देवताको आराधना गरेनन्। 4उनले आफ्ना पिताका परमेश्वरको सेवा गरे, उहाँका आज्ञाहरू पालन गरे र इस्राएलका राजाहरूले गरेझैँ दुष्ट काम गरेनन्। 5परमप्रभुले यहोशापातको हातमा यहूदा राज्यको शासन दरिलो गराउनुभयो। सबै मानिसहरूले तिनीकहाँ उपहार ल्याउँथे र उनी धनी-मानी भए। 6परमप्रभुको सेवा उनले भक्ति र सङ्कल्पसाथ गर्थे र यहूदाका सबै मूर्तिपूजकहरूका आराधना-स्थल र अशेरा-देवीका मूर्तिहरू ध्वंस पारिदिए।
7उनले राज्य गरेको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन यी अधिकृतहरूलाई पठाए– बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकाया। तिनीहरूसित नौ जना लेवी र दुई जना पूजाहारीहरू पनि गएका थिए। 8ती लेवीहरू यी नै हुन्: शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पूजाहारीहरूचाहिँ एलीशामा र यहोराम थिए। 9तिनीहरूले परमप्रभुको व्यवस्थाको पुस्तक लिएर गई त्यसबाट शिक्षा दिंदै यहूदाका सारा सहरमा गए।
यहोशापातको महान्ता
10चारैपट्टिका देशहरूका राजाहरूमाथि परमप्रभुको भय परेकाले तिनीहरू यहोशापात राजाका विरुद्धमा लडाइँ गर्न डराए। 11यहोशापातकहाँ कोही पलिश्तीहरूले धेरै चाँदी र अन्य उपहारहरू र केही अरबीहरूले ७,७०० भेडा र ७,७०० बोकाहरू ल्याए। 12यसरी यहोशापात झन् बलिया हुँदैगए। यहूदा देशभरि उनले किल्ला र सहरहरू बनाए 13र त्यहाँ धेरै मात्रामा धेरै थोकका भण्डारहरू बनाए।
यरूशलेममा तिनले नाम चलेका अधिकृतहरूलाई 14परिवार-परिवारअनुसार काम गर्न खटाए। यहूदाबाट फौजका सेनापति अदनाह थिए। उनको अधीनमा ३,००,००० सिपाहीहरू थिए। 15उनीपछि दोस्रो दर्जामा सेनापति येहोहानान थिए। उनको अधीनमा २,८०,००० सिपाही थिए। 16जिक्रीका छोरा अमसिया तेस्रो दर्जामा सेनापति थिए। तिनीसित २,००,००० सिपाहीहरू थिए। (अमसिया परमप्रभुको सेवाको निम्ति आफ्नै इच्छाले काम गर्न आएका थिए।) 17बेन्यामीन गोत्रका फौजका सेनापति एल्यादा थिए। उनी एक प्रमुख योद्धा थिए र दुई लाख धनु-काँड र ढाल भिरेका सिपाहीहरू उनका अधीनमा थिए। 18एल्यादापछि यहोजाबाद सेनापति १,८०,००० सिपाहीका अधिकृत थिए। यहोजाबादका सेना युद्ध गर्ने हात-हतियारले सजिसजाउ थिए। 19यी सिपाहीहरूले यरूशलेममा राजाको सेवा गर्थे। तीबाहेक राजाले अरू सेना यहूदाका अरू सुरक्षित सहरहरूमा राखेका थिए।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 17: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.