YouVersion लोगो
खोज आइकन

१ शमूएल 9

9
शाऊलले शमूएललाई भेट्‍छन्‌
1बेन्‍यामीन कुलमा कीश नाम गरेको एक जना धनी र प्रभावशाली मानिस थिए। तिनी अबीएलको छोरो जरोरको नाति बकोरतका परिवारको आपीहका वंशका थिए। 2तिनको एक जना शाऊल नाम गरेका सुन्दर छोरा थिए, इस्राएलमा तिनीभन्दा सुन्‍दर र तिनको कुमभन्दा अग्‍लो अरू कोही थिएनन्।
3कीशका कति वटा गधा हराएका थिए र तिनले शाऊललाई भने, “एउटा नोकर लिएर जा र गधा खोज्।” 4तिनीहरू एफ्राइमको पहाडी देश र शलीशाको इलाका भएर गए र गधा पाएनन्। तिनीहरू शालीमको इलाका भएर गए, तर त्‍यहाँ पनि गधा पाएनन्। तब तिनीहरू बेन्‍यामीनका भू-भागबाट भएर गए, तरै पनि गधा पाएनन्। 5जब तिनीहरू सूपका इलाकामा पसे, शाऊलले आफ्‍नो चाकरलाई भने, “हामी अब घर फर्कौं, नत्र बुबाले गधाबारे फिक्री गर्न छोडेर हाम्रा निम्‍ति फिक्री गर्न सुरु गर्लान्।”
6चाकरले उत्तर दियो, “पर्खनुहोस्! यस सहरमा एक जना पवित्र मानिस छन्, जसलाई सबैले इज्‍जत गर्छन् किनभने उनले भनेका सबै कुरा सत्‍य हुन्‍छन्। हामी तिनीकहाँ जाऔं र सायद हामीले गधाहरू कहाँ भेट्टाउन सक्‍छौं, त्‍यो उनले हामीलाई भन्‍न सक्‍लान्।”
7शाऊलले सोधे, “हामी तिनीकहाँ गयौं भने तिनलाई के दिन सक्‍छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। उनलाई दिनको लागि केही कुरा हामीसित छैन, के हामीसित छ र?”
8चाकरले उत्तर दियो, “मसित एउटा सानो चाँदीको सिक्‍का छ। त्‍यो म उनलाई दिन सक्‍छु र हामीले गधा कहाँ भेट्टाउन सक्‍छौं, त्‍यो उनले हामीलाई भन्‍नेछन्।”
9-11शाऊलले उत्तर दिए, “राम्रो कुरा भनिस्, जाऔं।” तिनीहरू ती पवित्र जन बस्‍ने सहरमा गए। डाँडाबाट भएर सहरतिर जाँदा तिनीहरूले पानी भर्न आउँदैगरेका केही ठिटीहरूलाई भेटे र तिनीहरूलाई सोधे, “के स्‍वप्‍नदर्शी सहरमा नै छन्?”
त्‍यस बेला अगमवक्तालाई स्‍वप्‍नदर्शी भनिन्थ्यो अनि जब कसैले परमेश्‍वरलाई केही प्रश्‍न गर्न चाहन्‍थ्‍यो, उसले भन्‍थ्‍यो, “हामी स्‍वप्‍नदर्शीकहाँ जाऔं।”
12-13“हजुर, उनी छन्।” ती ठिटीहरूले जवाफ दिए, “वास्‍तवमा उनी तपाईंका अघि-अघि जाँदै छन् र तपाईंहरू छिटो जानुभए उनलाई भेट्‍नुहुनेछ। सहरभित्र पस्‍नासाथ उनलाई भेट्‍नुहुनेछ। डाँडाको वेदीमा आज मानिसहरूले बलि चढाउँदै छन्। त्‍यसैकारण आज उनी सहरमा आइपुगेका छन्। उनी त्‍यहाँ नपुगेसम्‍म निम्‍त्‍याइएका मानिसहरूले भोज खानेछैनन् किनभने पहिले उनले बलिमाथि आशीर्वाद दिनेछन्। तपाईंहरू अहिले नै जानुभए उनी भोजमा डाँडामाथि जानुअघि नै उनलाई भेट्‍नुहुनेछ।” 14शाऊल र उनको चाकर सहरमा गए। तिनीहरू सहरमा पस्‍दैगर्दा शमूएललाई आराधना-स्‍थलको ठाउँमा जानलाई सहरबाट निस्‍कँदै र आफैंतिर आउँदै गरेका तिनीहरूले देखे।
15अघिल्‍लो दिन परमप्रभुले शमूएललाई भन्‍नुभएको थियो, 16“भोलि यति बेलातिर एक जना बेन्‍यामीन कुलको मानिसलाई म तँकहाँ पठाउनेछु। त्‍यसलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्नू अनि त्‍यसले तिनीहरूलाई पलिश्‍तीहरूका हातबाट बचाउनेछ। मैले तेरा प्रजाको कष्‍ट देखेको छु र तिनका मद्दतको लागि बिन्‍ती सुनेको छु।”
17जब शमूएलले शाऊललाई देखे, परमप्रभुले उनलाई भन्‍नुभयो, “मैले यही मानिसको बारेमा तँलाई भनेको थिएँ। उसले मेरा प्रजामाथि राज गर्नेछ।” 18शमूएल ढोकाछेउ पुगेका थिए। शाऊल उनीकहाँ गएर भने, “स्‍वप्‍नदर्शी कहाँ बस्‍नुहुन्‍छ? मलाई भन्‍नुहोस्।”
19शमूएलले उत्तर दिए, “म नै हुँ, स्‍वप्‍नदर्शी। मेरा अघि-अघि आराधना स्‍थलमा जाओ। तिमीहरू दुवैले आज मसित भोज खानुपर्नेछ। म भोलि बिहान तिमीहरूका सबै प्रश्‍नहरूका उत्तर दिउँला र तिमीहरूलाई बिदा गरूँला। 20तीन दिनअघि हराएका गधाहरूबारे चिन्‍ता नगर, ती गधा पाइएका छन्। तर इस्राएलका प्रजाले के मागिरहेका छन्? तिनीहरूले तिमीलाई र तिम्रा बुबाका परिवारलाई मागिरहेका छन्।”
21शाऊलले जवाफ दिए, “म बेन्‍यामीन कुलको हुँ, जुन कुल सबैभन्दा सानो हो र मेरा परिवारको त्‍यस कुलमा केही महत्त्व छैन। किन तपाईं मसित यस्‍तो कुरा गर्नुहुन्‍छ?”
22तब शमूएलले शाऊल र उनको चाकरलाई एउटा ठूलो कोठामा लगे, जहाँ तीस जना जति अतिथिहरू एउटा टेबिलको चारैपट्टि बसिरहेका थिए र त्‍यसका मुख्‍य स्‍थानमा तिनीहरूलाई राखे। 23शमूएलले भान्‍सेलाई भने, “मैले तँलाई दिएर अलग्‍गै छुट्याइराख्‍नू भनेको मासुको टुक्रा लिएर आइज।” 24त्‍यही भान्‍सेले छानिराखेको फिलाको टुक्रा ल्‍याएर शाऊलको सामुन्‍ने राखिदियो। शमूएलले भने, “हेर, त्‍यो तिम्रो लागि छुट्याइराखेको टुक्रा हो। खाऊ, मैले निम्‍त्‍याएका पाहुनाहरूसित तिमीले खानलाई मैले यो राख्‍न लगाएको थिएँ।”
त्‍यसरी त्‍यो दिन शाऊलले शमूएलसित भोजन गरे। 25आराधना-स्‍थलबाट सहरमा गएपछि तिनीहरूले कौसीमा शाऊलको लागि ओछ्यान लाइदिए 26र उनी त्‍यहीँ सुते।
शमूएलले शाऊललाई राजा अभिषेक गर्छन्
मिर्मिरे उज्‍यालो हुँदा शमूएलले कौसीमा शाऊललाई बोलाए, “उठ, म तिमीहरूलाई बिदा गर्नेछु।” शाऊल उठे र शमूएलसित सँगै बाहिर सडकमा गए। 27सहरको अन्‍तमा आइपुगेपछि शमूएलले शाऊललाई भने, “तिम्रो चाकरलाई अघि जाऊ भन।” चाकर गयो र शमूएलले भने, “यहाँ एक छिन बस् र परमेश्‍वरले के भन्‍नुभएको छ, सो म तिमीलाई सुनाउनेछु।”

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 9: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्