१ शमूएल 8
8
मानिसहरूले राजाको माग गर्छन्
1शमूएल बुढा भएपछि आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता खटाए। 2जेठो छोराको नाम योएल र कान्छोको नाम अबिया थियो। ती दुई बेर्शेबामा न्यायकर्ता थिए। 3तर तिनीहरू आफ्ना बुबाका चालअनुसार चलेनन्। तिनीहरू धन कमाउनमा मात्र चासो लिन्थे। यसकारण तिनीहरूले घूस लिन्थे र इमानदारीसित मुद्दाहरूको न्याय गर्दैनथे।
4तब इस्राएलका सबै अगुवाहरू एकसाथ भेला भएर शमूएलकहाँ रामामा गए 5#व्यवस्था 17:14र तिनलाई भने, “हेर्नुहोस्, तपाईं बुढो हुँदै हुनुहुन्छ अनि तपाईंका छोराहरू तपाईंको चालअनुसार चल्दैनन्। यसकारण अब हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गर्नुहोस् र हाम्रो पनि अरू देशमा झैँ राजा हुनेछन्।” 6तिनीहरूले राजाको लागि बिन्ती गरेकोमा शमूएल खुसी थिएनन्। तिनले परमप्रभुलाई प्रार्थना गरे 7अनि प्रभुले भन्नुभयो, “तँलाई मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई अस्वीकार गरेका होइनन्, तिनीहरूले त मलाई पो आफ्ना राजा मान्न अस्वीकार गरेका हुन्। 8मैले तिनीहरूलाई मिश्रबाट निकाली ल्याएका दिनदेखि सधैँ तिनीहरू मदेखि तर्केर गए र अरू देवी-देवता पुजेका छन् र जसो तिनीहरूले सधैँ मसित गर्दैआएका थिए। अब तँसित पनि त्यस्तै गर्दैछन्। 9यसकारण अब तिनीहरूका कुरा सुन्, तिनीहरूलाई कडा चेतावनी दे र तिनका राजाहरूले तिनीहरूसित कस्तो व्यवहार गर्नेछन्, सो बताइदे।”
10राजा माग्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले भनिदिए। 11“राजाले तिमीहरूसित यस्तो व्यवहार गर्नेछन्,” शमूएलले भने, “तिनले तिम्रा छोराहरूलाई सिपाही बनाउनेछन्। तिनीहरू कसैले लडाइँको निम्ति रथमा काम गर्नेछन्, कसैले घोडचढी सेनामा र अरूहरू तिनका रथका अघिअघि दगुर्नेछन्। 12कसैलाई तिनले हजार जनामाथि र अरू कसैलाई पचास जनामाथि सेनापति बनाउनेछन्। तिम्रा छोराहरूले तिनको खेत जोत्नु, फसल काटी बटुल्नु र तिनका हात-हतियार र रथका सर-सामान बनाउनुपर्नेछ। 13तिम्रा छोरीहरूले तिनको लागि सुगन्धित अत्तर बनाउनु र भान्छेको काम र रोटी बनाउने काम गर्नुपर्नेछ। 14तिम्रा सबैभन्दा असल खेतबारी, दाखबारी र जैतुनबारी तिनले लिएर आफ्ना भारदारहरूलाई दिनेछन्। 15तिम्रा अन्न र दाखका दशांश-हिस्सा तिनले आफ्ना राजमहलका र अरू अफिसरहरूको निम्ति लिनेछन्। 16तिनले तिम्रा नोकर-चाकर र सबैभन्दा असल गाई-वस्तु र गधाहरू लिएर आफ्ना काममा लाउनेछन्। 17तिनले तिम्रा भेडा-बाख्राको दशांश हिस्सा लिनेछन् र तिमीहरू आफैंचाहिँ तिनका कमारा हुनेछौ। 18त्यो समय आउँदा राजाको कारणले गर्दा तिमीहरूले कटुतासित आफ्नो दु:ख पोखाउनेछौ, तर परमप्रभुले तिम्रो बिन्ती सुन्नुहुनेछैन।”
19शमूएलका कुरामा ध्यान नदिई मानिसहरूले भने, “अँहँ, हामी राजा नै माग्छौं 20र हामी पनि अरू जातिहरू जस्तै हुनेछौं। हामीलाई शासन गर्न, लडाइँमा अगुवाइ गर्न र हाम्रा युद्ध लड्नको लागि हाम्रा आफ्नै राजा हुनेछन्।” 21शमूएलले तिनका सबै कुरा सुने र परमप्रभुकहाँ गएर भने। 22परमप्रभुले उत्तर दिनुभयो, “जे तिनीहरूले माग्छन्, त्यही गरिदे र तिनलाई एउटा राजा दिइहाल्।” त्यसपछि शमूएलले इस्राएलका सबै मानिसहरूलाई घर फर्किन लाए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.