YouVersion लोगो
खोज आइकन

१ शमूएल 31

31
शाऊल र तिनका छोराहरूको मृत्‍यु
1पलिश्‍तीहरूले इस्राएलीहरूसित गिल्‍बो पहाडमा लडाइँ गरे। त्‍यहाँ धेरै इस्राएलीहरू मारिए र बाँचेकाहरू शाऊल राजा र तिनका छोराहरूसमेत भागे। 2तर पलिश्‍तीहरूले तिनीहरूलाई खेद्दै गएर भेट्टाए र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे। 3शाऊलका चारैपट्टि ठूलो लडाइँ भइरहेको थियो र शत्रुका काँडले लागेर तिनी घाइते भए। 4तब शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप् र यी खतना नभएका दुष्‍टहरूले निन्‍दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँट गरेन। यसकारण शाऊलले आफ्‍नो तरवार थुते र त्‍यसैमा उनिएर मरे। 5शाऊल मरेको त्‍यस केटाले देख्‍यो र त्‍यो आफैं पनि आफ्‍नै तरवारमा रोपियो र शाऊलसँगै मर्‍यो। 6यसरी शाऊल, तिनका तीन भाइ छोराहरू र त्‍यो केटा मरे। त्‍यो दिन शाऊलका सबै मानिसहरू मरे। 7जब यिजरेलको बेसीको पल्‍लोपट्टि अनि यर्दन नदीको पूर्वमा बास गर्ने इस्राएलीहरूले इस्राएली सेना भागेका र शाऊल र तिनका छोराहरू मारिएका खबर सुने, तिनीहरू आ-आफ्‍ना सहरहरू छोडेर भागे। त्‍यसपछि पलिश्‍तीहरू आएर ती सहरहरू अधीनमा लिए।
8युद्ध भएको भोलिपल्‍ट पलिश्‍तीहरू लाशहरूसित भएका चीजबीज लुट्‍न गए र गिल्‍बो-पहाडमा शाऊल र तिनका तीन भाइ छोराका लाश लडिरहेका भेट्टाए। 9तिनीहरूले शाऊलको शिर काटे, झिलम फुकाइदिए र सारा पलिश्‍त देशमा तिनका देव-देवता र मानिसहरूलाई त्‍यो शुभ समाचार सुनाउन दूतहरू पठाए। 10तब तिनका हतियारहरू तिनीहरूले अश्‍तोरेतको मन्‍दिरमा राखे र तिनको लाश बेथ-शान सहरको पर्खालमा किला ठोकेर झुन्‍ड्याइदिए।
11पलिश्‍तीहरूले शाऊललाई जे गरेका थिए, त्‍यसबारे गिलादको याबेशका बासिन्‍दाहरूले सुने। 12तिनका सबैभन्दा वीर पुरुषहरू प्रस्‍थान भए र रातभरि हिंडेर बेथ-शान पुगे। तिनीहरूले पर्खालबाट शाऊल र शाऊलका छोराहरूका लाश निकालेर र ती याबेशमा ल्‍याई जलाइदिए। 13त्‍यसपछि तिनीहरूले तिनका हड्डीहरू लिएर सहरमा झ्‍याउको जस्‍तै एउटा रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे।

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 31: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्