शमूएलले जवाफ दिए, “तिमीले आफैंलाई केही महत्त्व नभएको मानिस हुँ भनी ठान्छौ भने पनि तिमी इस्राएलका कुलहरूका अगुवा हौ। परमप्रभुले तिमीलाई राजा अभिषेक गर्नुभयो र अमालेकका दुष्ट मानिसहरूलाई नाश पार्ने आज्ञा दिएर पठाउनुभयो। उहाँले तिमीलाई भन्नुभयो कि तिमीले तिनीहरू सबैलाई मारी नसकेसम्म लडाइँ गर्नू। तर किन तिमीले उहाँको आज्ञा मानेनौ? किन लुटका माल लिन हतारले गयौ र त्यसरी परमप्रभुलाई असन्तुष्ट पार्ने काम गर्यौ?” “मैले परमप्रभुको आज्ञा साँच्चै पालन गरें,” शाऊलले जवाफ दिए, “उहाँले भनेअनुसार म गएँ, अगाग राजालाई ल्याएँ र सबै अमालेकीहरूलाई मारें। तर मेरा मानिसहरूले पो कब्जा गरेकामध्ये सबैभन्दा असल भेडा र गाई-गोरु मारेनन्। त्यसका सट्टामा तिनीहरूले ती पशुहरू परमप्रभु तपाईंको परमेश्वरलाई बलि चढाउन यहाँ गिलगालमा ल्याए।” शमूएलले भने, “परमप्रभुले कुन कुरा बढ्ता रुचाउनुहुन्छ? आज्ञापालन, भेटी वा बलि? सबैभन्दा असल भेडा बलिदान गरेको भन्दा उहाँको आज्ञापालन गरेको अझ बढी असल हो। उहाँको विरुद्धमा विद्रोह गर्नु तन्त्र-मन्त्रको पापजस्तै हो र घमण्ड गर्नु मूर्तिपूजाजस्तै पाप हो। तिमीले परमप्रभुको आज्ञा अस्वीकार गरेको हुनाले उहाँले तिमीलाई राजा मान्न अस्वीकार गर्नुभएको छ।” “हो, मैले पाप गरें,” शाऊलले जवाफ दिए, “मैले परमप्रभुको आज्ञा र तपाईंका आदेशहरू मानिनँ। म मेरा मानिसहरूसित डराएँ र तिनीहरूले चाहेका काम मैले गरें। तर, म अब तपाईंलाई बिन्ती गर्दछु, मेरा पाप क्षमा गर्नुहोस् र मसित फर्कनुहोस् र म परमप्रभुलाई पुज्न सकूँ।” “म तिमीसित फर्किनेछैनँ,” शमूएलले उत्तर दिए, “तिमीले परमप्रभुको आज्ञा अस्वीकार गर्यौ र उहाँले तिमीलाई इस्राएलका राजा मान्न इन्कार गर्नुभएको छ।”
१ शमूएल 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 15:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू