एक दिन जोनाथनले आफ्नो हतियार बोक्ने केटालाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूका छाउनीमा जाऔं।” तर जोनाथनले त्यो कुरा आफ्ना बुबा शाऊललाई भनेनन्। शाऊल गिबाको नजिकै मिग्रोनमा एउटा अनारको बोटमुनि डेरा गरेर बसेका थिए, तिनीसित प्राय: छ सय जना मानिसहरू थिए। (एपोद बोक्ने पूजाहारीचाहिँ ईकाबोदको भाइ अहीतूबको छोरा अहियाह थिए। अहीतूब पीनहासको छोरो अनि शीलोमा रहेका परमप्रभुको पूजाहारी एलीका नाति थिए।) जोनाथन गएको मानिसहरूले थाहा पाएनन्। मिकमाशको घाटीको, जुन बाटो भएर जोनाथन पलिश्तीहरूका छाउनीमा पुग्नुपर्थ्यो, दुई वटा चोसो निस्केका चट्टानहरू घाटीका दुईपट्टि उठेका थिए। एउटा चट्टानको नाम बोसेस र अर्काको नाम सेनेह थियो। एउटा चट्टान घाटीको उत्तरपट्टि मिकमाशतिर र अर्को दक्षिणपट्टि गेबातिर फर्केका थिए। जोनाथनले त्यस जवान मानिसलाई भने, “हामी पारिपट्टि ती मूर्ति पुज्ने पलिश्तीहरूका छाउनीमा जाऔं। हुन सक्छ, परमप्रभुले हाम्रो मद्दत गर्नुहुन्छ र उहाँले मद्दत दिनुभयो भने हामी जति नै थोरै सङ्ख्यामा भए पनि कुनै कुराले हामीलाई विजय पाउनदेखि रोक्न सक्नेछैन।” त्यस केटाले उत्तर दियो, “जे तपाईं गर्न चाहनुहुन्छ, त्यसमा म तपाईंलाई साथ दिनेछु।” जोनाथनले भने, “ठीक छ! हामी पारि जानेछौं र पलिश्तीहरूकहाँ देखा पर्नेछौं। यदि तिनीहरूले ‘तिमीहरू त्यहीँ पर्ख हामी आउँदै छौं’ भनेर हामीलाई भन्छन् भने हामी जहाँ हुन्छौं, त्यहीं पर्खनेछौं। तर तिनीहरूले आफू भएका ठाउँमा हामीलाई बोलाए भने हामी त्यसै गर्नेछौं किनभने त्यो परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभएको छ भन्ने कुराको चिन्ह हुनेछ।” यसर्थ तिनीहरू पलिश्तीकहाँ देखा परे र पलिश्तीहरूले भने, “हेर, कोही-कोही हिब्रूहरू आफू लुकेका दुलाहरूबाट निस्की आउँदै छन्!” तब तिनीहरूले जोनाथन र त्यस केटालाई कराएर भने, “तिमीहरू यहाँ आओ! हामीसित तिमीहरूलाई भन्नुपर्ने केही कुरा छन्!” जोनाथनले त्यस केटालाई भने, “मेरो पछि-पछि आऊ। परमप्रभुले इस्राएललाई तिनीहरूमाथि विजय दिनुभएको छ।” जोनाथन हात र घुँडा टेकी घाटीबाट उक्ली उँभो आए र जोनाथनको पछि-पछि त्यो केटा पनि आयो। जोनाथनले हमला गरेर पलिश्तीहरूलाई ढाले र त्यो केटाले तिनीहरूलाई मार्यो। त्यो पहिलो संहारमा मार-काट हुँदा जोनाथन र त्यो केटाले प्राय: बीस जना मानिसहरूलाई चार रोपनीजस्तो क्षेत्रफलभित्र मारे। गाउँ-बस्तीमा बास गर्ने सबै पलिश्तीहरू डराए, छाउनीमा बसेका छापामार र सिपाहीहरू डरले काँमे, पृथ्वी हल्लियो र एउटा ठूलो आतङ्क मच्चियो। बेन्यामीनी इलाकाको गिबामा पहरा दिएर बसेका शाऊलका मानिसहरूले पलिश्तीहरू डरले भाग्दै गरेका देखे। यसकारण शाऊलले आफ्ना मानिसहरूलाई भने, “सिपाहीहरूको गन्ती लिएर को-को छैन हेर।” तिनीहरूले त्यसै गरे अनि जोनाथन र उनको हतियार बोक्ने केटा रहेनछन् भनी पत्ता लगाए। शाऊलले पूजाहारी अहियाहलाई भने, “सन्दुक यहाँ ल्याओ।” (त्यस दिन अहियाहले इस्राएलका मानिसहरूका अघि सन्दुक बोकेका थिए।) शाऊल पूजाहारीसित कुरा गरिरहेको बेलामा पलिश्ती छाउनीमा गड्बडी अझै बढ्दैगयो र शाऊलले तिनलाई भने, “परमप्रभुसित सल्लाह लिइरहने समय छैन!” त्यसपछि शाऊल र तिनका मानिसहरू पलिश्तीहरूका विरुद्धमा लड्न निक्ले। पलिश्तीहरू पूरा गड्बडीका बीचमा आफू-आफूमा नै लडिरहेका थिए। कति जना हिब्रूहरू, जो पलिश्तीहरूतिर लागेर तिनीहरूसित तिनका छाउनीमा गएका थिए, फेरि तिनीहरूलाई छोडेर शाऊल र जोनाथनपट्टि आए। अरू एफ्राइमको डाँडामा लुकेर बस्नेहरूले पलिश्तीहरू भाग्दै छन् भनी सुने र तिनीहरूले पनि साथ दिएर पलिश्तीहरूमाथि हमला गरे अनि लडाइँ गर्दै बेथ-आवनको पारिपट्टि गए। त्यो दिन परमप्रभुले इस्राएलको रक्षा गर्नुभयो।
१ शमूएल 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 14:1-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू