एक दिन दुई वेश्याहरू सोलोमन राजाको अघि हाजिर भए। एउटीले भनी, “हे महाराज! यो आइमाई र म एउटै घरमा बस्छौं र त्यो घरमा हुँदा नै मैले एउटा छोरो जन्माएँ। मेरो छोरो जन्मेको दुई दिनपछि त्यसले पनि एउटा छोरो जन्माई। घरमा हामी दुई मात्र थियौं, अरू कोही थिएन। एक रात एउटा घटना भयो, निद्रामा पल्टँदा त्यसले आफ्नो बालकलाई थिचिछ र त्यो छोरो मरेछ। राति नै उठेर म निदाएकै बेला त्यसले मेरो छोरो मेरो छेउबाट उठाएर लगिछ र आफ्नो ओछ्यानमा राखिछ र मरेको बालकचाहिँ मेरो छेउमा राखिदिइछ। भोलिपल्ट बिहान उठेर आफ्नो बालकलाई दूध खुवाऊँ भनेको त बालक मरिसकेको पो रहेछ। राम्ररी हेरेको त मरेको छोरा मेरो होइन रहेछ।” अर्की आइमाईले भनी, “होइन, जिउँदो बालक मेरो हो, मरेको बालक तेरो हो।” पहिली आइमाईले भनी, “होइन, होइन! मरेको बालक तेरो हो, जिउँदो बालक मेरो हो।” यसरी राजाको अघि ती दुई झगडा गर्न लागे। तब सोलोमन राजाले भने, “तिमीहरू दुवै जना जिउँदो बालक मेरो र मरेको बालक तेरो हो भन्छौ।” उनले एउटा तरवार ल्याउन लगाए। तरवार ल्याएपछि उनले भने, “जिउँदो बालक दुई भाग गरेर काट् र प्रत्येक आइमाईलाई एक-एक भाग दिइहाल्।” साँचो आमाको हृदय आफ्नो छोराको मायाले भरियो र त्यसले राजालाई भनी “महाराज! बालक नमार्नुहोस्, त्यसैलाई दिनुहोस्।” तर अर्की आइमाईले भनी, “हामी दुवैलाई बालक नदिनुहोस्, त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।” तब सोलोमनले भने, “त्यस बालकलाई नमार्। पहिलो आइमाईलाई नै त्यो बालक दे, तिनी बालककी खास आमा हुन्।” सोलोमनको यो फैसला सुनेर इस्राएलका मानिसहरूका हृदय आफ्ना राजाप्रति गहिरो श्रद्धाले भरिए। तब न्यायपूर्ण तरिकाले मुद्दा छिन्ने बुद्धि राजालाई परमेश्वरले दिनुभएको भनी तिनीहरूले जाने।
१ राजा 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 3:16-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू