YouVersion लोगो
खोज आइकन

१ राजाहरू 3:16-28

१ राजाहरू 3:16-28 NNRV

त्‍यसपछि दुई जना वेश्‍याहरू राजाको सामुन्‍ने आएर उभिए। तीमध्‍ये एक जनाले भनी, “हे मेरा प्रभु, यो आइमाई र म एउटै घरमा बस्‍छौं। र त्‍यहाँ त्‍यो मसँग हुँदा मैले एक जना बालक जन्‍माएँ। मेरो बालक जन्‍मेको तीन दिनपछि त्‍यसले पनि बालक जन्‍माई। त्‍यहाँ हामी मात्र थियौं। त्‍यस घरमा हामी दुईबाहेक अरू कोही थिएन। “राती यस आइमाईले आफ्‍नो छोरालाई थिचेर मारिछ। मध्‍यरातमा त्‍यो उठेर म, हजूरकी दासी निदाएको बेलामा मेरो छेउबाट मेरो छोरा लगेर आफ्‍नो काखमा राखिछ, र आफ्‍नो मरेको छोरालाई चाहिँ मेरो काखमा राखिदिइछ। भोलिपल्‍ट बिहानै छोरालाई दूध खुवाउन उठ्‌दा त मैले मेरो छोरालाई मरेको भेट्टाएँ। तर मैले त्‍यसलाई बिहानको उज्‍यालोमा राम्ररी हेर्दा त त्‍यो मैले जन्‍माएको मेरो छोरो होइन रहेछ।” त्‍यो अर्की आइमाईले भनी, “होइन, जिउँदोचाहिँ मेरै छोरो हो, तेरो चाहिँ मरेको हो।” तर पहिलीले जिद्दी गरेर भनी, “होइन, मरेको चाहिँ तेरो हो, जिउँदो मेरो हो।” यसरी तिनीहरू राजाको सामुन्‍ने बहस गर्न लागे। राजाले भने, “यसले भन्‍छे, ‘जिउँदो छोरो मेरो हो। मरेको तेरो हो’। अनि अर्कीले भन्‍छे, ‘होइन, तेरो छोरोचाहिँ मरेको हो, जिउँदोचाहिँ मेरै हो’।” तब राजाले भने, “मलाई एउटा तरवार ल्‍याइदेऊ।” अनि तिनीहरूले राजाको निम्‍ति एउटा तरवार ल्‍याइदिए। तब तिनले यस्‍तो हुकुम दिए, “त्‍यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट, र आधा एउटीलाई र आधा अर्कीलाई देऊ।” तब आफ्‍नो छोराको मायाले भरिएर त्‍यस जिउँदो बालककी आमाले राजालाई भनी, “हे प्रभु, त्‍यो जिउँदो बालक त्‍यसलाई नै दिनुहोस्‌। त्‍यसलाई नमार्नुहोस्‌।” तर अर्कीले भनी, “न त मैले न त्‍यसले लैजान पाओस्‌। त्‍यसलाई दुई टुक्रा गरी काट्‌नुहोस्‌।” तब राजाले आफ्‍नो न्‍यायको फैसला यसरी सुनाइदिए, “त्‍यो जिउँदो बालक पहिलो आइमाईलाई दिइहाल। त्‍यसलाई नमार। त्‍यसकी आमा त्‍यही हो।” जब राजाले दिएको फैसला सारा इस्राएलले सुने, तब राजाप्रति भयको भावना उत्‍पन्‍न भयो, किनभने न्‍याय गरिदिनलाई तिनीसँग परमेश्‍वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे।