आफू मर्ने बेला हुँदा दाऊदले आफ्नो छोरो सोलोमनलाई बोलाएर आफ्ना अन्तिम अर्तिहरू यसरी दिए: “मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्प गर र परमप्रभु तिम्रा परमेश्वरले जे आज्ञा गर्नुहुन्छ, ती मान। मोशाका व्यवस्थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्नेछौ, त्यसमा तिम्रो फलिफाप हुनेछ। तिमीले उहाँका आज्ञाहरू पालन गर्यौ भने मेरो सन्तानले सावधान भई उहाँका आज्ञाहरू आफ्ना पूरा हृदय र मनले विश्वाससित जबसम्म पालन गर्लान्, तबसम्म तिनीहरूले इस्राएलमा राज्य गर्नेछन् भनी परमप्रभुले मलाई दिनुभएको प्रतिज्ञा उहाँले कायम राख्नुहुनेछ। “त्यसबाहेक अरू कुरा पनि छ। योआबले मसित कस्तो व्यवहार गरेको थियो, त्यसले कसरी इस्राएलका दुई सेनापतिहरू नेरको छोरो अबनेर र येतेरको छोरो अमासालाई मारेको थियो, त्यो तिमीलाई याद छ। ती दुई सेनापतिहरूले लडाइँको समयमा मानिसहरू मारेका थिए तर योआबले मिलापको समयमा बदला लिएर तिनीहरूलाई मारेको थियो भनी तिमीलाई थाहा हुनुपर्छ। त्यसले निर्दोष मानिसहरूलाई मारेको थियो र त्यसको जिम्मेवार अहिले म भएको छु र त्यसको फल भोग्दै छु। यसबारे के गर्नुपर्छ, त्यो तिमी जान्दछौ। त्यसलाई शान्तिसित मर्न नदेऊ। “तर गिलादका बर्जिल्लैका छोराहरूलाई दया देखाउनू र तिनीहरूको हेरचाहा गर्नू। म तिम्रा दाजु अब्शालोमदेखि भागेर जाँदा तिनीहरूले ममाथि दया गरेका थिए। “बेन्यामीन देशका बहुरीम सहरबाट आएका गेराको छोरो शिमीलाई पनि नभुल्नू। म महनोममा गएको दिन त्यसले मलाई खुब सरापेको थियो। तर जब त्यसले मलाई यर्दन नदीछेउ भेटेको थियो, मैले परमप्रभुको नाउँमा त्यसलाई तँ मारिनेछैनस् भनी एउटा गम्भीर प्रतिज्ञा गरेको थिएँ। तर तिमीले त्यसलाई दण्ड नदिई नछोड्नू। के गर्नुपर्छ, त्यो तिमी जान्दछौ। त्यसलाई मार्ने प्रबन्ध गर्नू।” दाऊद मरे र दाऊदको सहरमा गाडिए। सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा गरेर जम्मा चालीस वर्ष उनले इस्राएलमा राज्य गरेका थिए। दाऊदपछि सोलोमन राजा भए र उनको राजकिय शक्ति दरिलो प्रकारले कायम भयो।
१ राजा 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 2:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू