YouVersion लोगो
खोज आइकन

१ राजा 19:11-21

१ राजा 19:11-21 सरल नेपाली

“बाहिर गएर पर्वतको टुप्‍पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्‍नुभयो। तब परमप्रभु त्‍यहाँबाट भएर जानुभयो र एउटा प्रचण्‍ड बतास पठाउनुभयो। त्‍यसले डाँडाहरू चिर्‍यो र चट्टानहरू टुक्रा-टुक्रा पार्‍यो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतास थामियो र त्‍यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भूइँचालोपछि आगो आयो तर परमप्रभु आगोमा हुनुहुन्‍नथ्‍यो। आगोपछि एउटा सानो मधुर आवाज आयो। त्‍यो सुनेर एलियाले आफ्‍नो खास्‍टोले मुख छोपे र बाहिर निस्‍केर ओडारको ढोकामा उभिए। उनले एउटा आवाज सुने, “एलिया, तँ यहाँ के गर्दै छस्?” उनले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्‍काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु! तर तिनीहरू मलाई पनि मार्ने कोसिसमा छन्।” परमप्रभुले भन्‍नुभयो, “दमस्‍कस छेउको उजाड-स्‍थानमा जा, त्‍यसपछि सहरभित्र पस् र हजाएललाई अरामका राजा अभिषेक गर्‌। निम्‍शीको छोरो येहूलाई इस्राएलका राजा र हाबिल महोलाको शाफातको छोरो एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्‌। हजाएलका हातबाट नमरी उम्‍कनेलाई येहूले मार्नेछ र येहूका हातबाट उम्‍कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजारलाई म इस्राएलमा बचाइराख्‍छु, ती सबै, जसले बालको सामुन्‍ने आफ्‍ना घुँडा टेकेका छैनन् र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्।” एलिया त्‍यहाँबाट हिंडे र एलीशालाई गोरु लिएर खेत जोतिरहेका भेट्टाए। उनको अगाडि एघार हल गोरु थिए। त्‍यसपछिको आखिरी हल उनले जोत्‍दै थिए। एलियाले आफ्‍नो खास्‍टो फुकालेर एलीशालाई ओढाइदिए। एलीशा आफ्‍ना गोरु छोडेर एलियाको पछि दगुरे र भने, “म मेरा माता-पितालाई म्‍वाइँ खाएर बिदा लिन पाऊँ र म तपाईंसित जानेछु।” एलियाले जवाफ दिए, “ठीक छ, जाऊ, मैले तिमीलाई रोकेको छैनँ।” तब एलीशाले एलियालाई छोडेर गए। उनले आफ्‍नो एक हल गोरु लिएर मारे। उनले हलोका काठहरू बालेर मासु पकाएर मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्‍यसपछि उनी एलियाको पछि लागे र उनको सेवा गर्न थाले।

१ राजा 19 पढ्नुहोस्