YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 9:16-23

१ कोरिन्थी 9:16-23 सरल नेपाली

मैले सुसमाचार सुनाउँदा मलाई घमण्‍ड गर्ने हक छैनँ किनभने यो मैले सुनाउनैपर्छ। मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्‍कार होस्। मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्‍थें। तर म यो कामलाई मेरो कर्तव्‍य सम्‍झेर गर्दै छु। परमेश्‍वरले नै यो कामको जिम्‍मा दिनुभएकोले मैले गरें। त्‍यसो भए मेरो तलबचाहिँ के हो त? हकअनुसार पाइने कुनै पैसा नलिई सित्तैंमा सुसमाचार प्रचार गर्न पाउनु नै मेरो तलब हो। म कसैको कमारो होइनँ, तैपनि धेरैलाई ख्रीष्‍टमा विश्‍वास गराउन म सबैको कमारोझैँ भएको छु। यहूदीहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म यहूदीजस्तै भएँ। मोशाले दिएका व्यवस्था मान्‍नेहरूका माझमा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर मैले पनि त्‍यही व्यवस्था मानें। व्यवस्था नहुने अरू जातिका मानिसका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर व्यवस्था नहुनेजस्‍तो भएँ। यसको मतलब परमेश्‍वरको व्यवस्था म मान्‍दिनँ भनेको होइनँ, तर म त ख्रीष्‍टको व्यवस्था मान्‍दछु। कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्‍टमा जीवन पाऊन् भनेर सबै थोक भएँ। सुसमाचारको खातिर नै म यी सब गर्दै छु र यसबाट पाउने आशीर्वाद पनि म पाउँछु भनी आशा राख्‍छु।

१ कोरिन्थी 9 पढ्नुहोस्