दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो। राती मैले एउटा यस्तो दर्शन देखें, एक जना मानिस रातो घोड़ामा चढ़िरहेका थिए। तिनी खोल्साका असारे-फूलका रूखहरूका बीचमा उभिरहेका थिए, अनि तिनको पछिल्तिर रातो, खैरो र सेतो रङ्गका घोड़ाहरू पनि थिए। मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?” मसित कुरा गर्ने ती स्वर्गदूतले उत्तर दिए, “यी के हुन् म तिमीलाई देखाइदिनेछु।” तब असारे-फूलका रूखहरूका बीचमा उभिरहने मानिसले बताउँदै भने, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीका चारैतिर जान पठाउनुभएको हो।” तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहने स्वर्गदूतलाई प्रतिवेदन दिए, “हामीहरू पृथ्वीका चारैतिर गयौं, र जम्मै संसार आराम र शान्तिमा बसेको पायौं।” तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान् परमप्रभु, यी सत्तरी वर्षसम्म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्म तिनीहरूमाथि आफ्नो दया रोकिराख्नुहुन्छ?” यसैले मसित कुरा गर्ने स्वर्गदूतलाई परमप्रभुले सान्त्वनाका वचन भन्नुभयो। तब मसित कुरा गरिरहने ती स्वर्गदूतले मलाई भने, “यस कुराको घोषणा गर: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेम र सियोनको निम्ति म ज्यादै डाही छु, तर सुरक्षा अनुभव गरी बस्ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्टलाई झन् बढ़ाइदिए’। “यसैकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्ने डोरी तन्काइनेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा नगरहरू फेरि उन्नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ’।”
जकरिया 1 पढ्नुहोस्
सुन्नुहोस् जकरिया 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 1:7-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू