जकरिया 1:7-17
जकरिया 1:7-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो। राती मैले एउटा यस्तो दर्शन देखें, एक जना मानिस रातो घोड़ामा चढ़िरहेका थिए। तिनी खोल्साका असारे-फूलका रूखहरूका बीचमा उभिरहेका थिए, अनि तिनको पछिल्तिर रातो, खैरो र सेतो रङ्गका घोड़ाहरू पनि थिए। मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?” मसित कुरा गर्ने ती स्वर्गदूतले उत्तर दिए, “यी के हुन् म तिमीलाई देखाइदिनेछु।” तब असारे-फूलका रूखहरूका बीचमा उभिरहने मानिसले बताउँदै भने, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीका चारैतिर जान पठाउनुभएको हो।” तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहने स्वर्गदूतलाई प्रतिवेदन दिए, “हामीहरू पृथ्वीका चारैतिर गयौं, र जम्मै संसार आराम र शान्तिमा बसेको पायौं।” तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान् परमप्रभु, यी सत्तरी वर्षसम्म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्म तिनीहरूमाथि आफ्नो दया रोकिराख्नुहुन्छ?” यसैले मसित कुरा गर्ने स्वर्गदूतलाई परमप्रभुले सान्त्वनाका वचन भन्नुभयो। तब मसित कुरा गरिरहने ती स्वर्गदूतले मलाई भने, “यस कुराको घोषणा गर: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेम र सियोनको निम्ति म ज्यादै डाही छु, तर सुरक्षा अनुभव गरी बस्ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्टलाई झन् बढ़ाइदिए’। “यसैकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्ने डोरी तन्काइनेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा नगरहरू फेरि उन्नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ’।”
जकरिया 1:7-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो। रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए। मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?” मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।” तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।” अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।” त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?” यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो। तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु, तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्टलाई झन् बढाइदिए।’ “यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ ”
जकरिया 1:7-17 पवित्र बाइबल (NERV)
जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। (जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखें। त्यो बेंसीमा मेहेंदीको रूखहरूको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरू पनि थिए। मैले सोधें, “यी घोडाहरू के को निम्ति, परमप्रभु?” त्यस समय मसँग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरू के को निम्ति हुन्।” त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरू पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।” त्यतिबेला घोडाहरूले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसँग कुरा गरे। उनीहरूले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।” तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरूलाई सत्तरी बर्ष सम्म क्रोध देखाउँनु भयो।” तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो। त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसँग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरूलाई यी सबै कुराहरू बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ: “यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ। म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु, जसले आफू अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि, ती जातिहरूको प्रयोग गरें। तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।” यसकारण, परमप्रभु भन्नुहुन्छ, “म यरूशलेममा कृपा सहित जान्छु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।” स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मेरो शहरमा फेरि उन्नति हुनेछ, परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ, उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’”
जकरिया 1:7-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दारा महाराजा भएको दोस्रो वर्ष, त्यसको एघारौँ महिना (शबाथ महिना) को चौबीसौँ दिन परमप्रभुले मलाई राती दर्शनमा एउटा सन्देश दिनुभयो। मैले एक जना मानिस रातो घोडामा चढेको देखें। उनी एउटा बेसीमा मेहदीको बोटहरूको बीचमा अडिएका थिए। तिनका पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए। तिनलाई मैले सोधें, प्रभु, “यी घोडाहरूका अर्थ के हुन्?” मसँग बोल्ने स्वर्गदूतले जवाफ दिए, “त्यो म तिमीलाई बताइदिनेछु। यी घोडाहरूलाई परमप्रभुले पृथ्वीमा गएर के-के हुँदै छ, सो हेर्न पठाउनु भएको हो भनी मेहदीका बोटहरूबीच उभेका ती मानिसले भने। तब तिनीहरूले परमप्रभुको स्वर्गदूतलाई यस्तो बयान दिए, “हामीले सारा पृथ्वी फेरो लाएर हेर्यौं। सारा संसार शान्त र चुपचाप छ।” तब ती स्वर्गदूतले भने, “हे सर्वशक्तिमान् परमप्रभु, सत्तरी वर्षसम्म तपाईं यरूशलेम र यहूदाका अरू सहरहरूसँग रिसाउनुभएको छ। अरू कति दिनसम्म तपाईंले तिनीहरूमाथि दया देखाउनुहुन्न?” तब परमप्रभुले मसँग कुरा गर्ने स्वर्गदूतलाई दया र सान्त्वनाका कुराहरू भन्नुभयो र तिनै र्स्वगदूतले मलाई सर्वशक्तिमान् परमप्रभुका यी वचन घोषणा गर्ने आदेश दिए, “मेरो पवित्र सहर यरूशलेमको निम्ति मेरो गहिरो माया र वास्ता छ अनि शान्ति र मेल-मिलापको आनन्द पाएका जातिहरूमाथि मेरो ठूलो क्रोध छ किनभने मैले आफ्नो प्रजामाथि आफ्नो रिस रोकिराखेको बेलामा ती जातिहरूले मेरा मानिसहरूको विपत्ति अझ धेरै बढाइदिए। यसकारण मेरो दया देखाउनलाई म यरूशलेममा फर्की आएको छु। मेरो मन्दिर फेरि बनाइने र यो सहर फेरि नयाँ गरी बसालिनेछ।” स्वर्गदूतले मलाई यो कुरो पनि घोषणा गर्न अह्राए, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि उहाँका सहरहरूको फेरि उन्नति हुनेछ र उहाँले फेरि यरूशलेमलाई सहायता गर्नुहुनेछ र त्यसलाई आफ्नो सहर बनाउनुहुनेछ।”