अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो। यदि तिनीहरूमध्ये कसैकसैले विश्वास गरेनन् भने, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई रद्द तुल्याउँछ र? त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।” तर हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने, हामी के भनौं? के परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुहुन्छ? (म मानिसले जस्तै तर्क गर्दछु।) कदाचित् होइन! त्यसो भए, परमेश्वरले संसारको इन्साफ कसरी गर्न सक्नुहुन्थ्यो र? तर यदि मेरो झूटले गर्दा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने, किन पापीझैँ इन्साफमा परिरहेको छु? त्यसो भए, असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोषारोपण न्यायसङ्गतै छ। उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।” “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्।” “सर्पको विष तिनीहरूका ओठमा छ।” “तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।” “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्। विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।” “तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन।” अब हामी जान्दछौं, जे-जति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस्। यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ।
रोमी 3 पढ्नुहोस्
सुन्नुहोस् रोमी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 3:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू