यसकारण म सोध्दछु, “के परमेश्वरले आफ्ना मानिसलाई परित्याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएली हुँ। परमेश्वरले पहिलेदेखि नै चिन्नुभएका आफ्ना मानिसलाई बहिष्कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्त्रले भनेको कुरा तिमीहरू जान्दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्वरसँग कसरी बिन्ती गर्दछन्, “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन् र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्।” तर उनलाई परमेश्वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्ने सात हजार मानिसहरू मैले आफ्नो निम्ति राखेको छु।” यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन। तब के? इस्राएलले जे खोजेको थियो त्यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्यो प्राप्त गरे। अरू सबैचाहिँ कठोर बने, जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ। यस्ता आँखा दिनुभएको छ जसले नदेखून् र यस्ता कान जसले नसुनून्, र आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्,” र दाऊद भन्छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरो होस्। तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।”
रोमी 11 पढ्नुहोस्
सुन्नुहोस् रोमी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू