YouVersion लोगो
खोज आइकन

प्रकाश 22:10-21

प्रकाश 22:10-21 NNRV

तब तिनले मलाई यसो भने, “यस पुस्‍तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ। दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।” “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ। “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌। बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌। “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।” पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌। यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु: यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ। अनि कसैले यस अगमवाणीको पुस्‍तकका वचनबाट केही घटायो भने, यस पुस्‍तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्‍यसले पाउने हिस्‍सा परमेश्‍वरले त्‍यसबाट खोस्‍नुहुनेछ। यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।