YouVersion लोगो
खोज आइकन

प्रकाश 21:1-8

प्रकाश 21:1-8 NNRV

तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन। अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें। सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।” सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु। जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ। तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।