YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 96:1-10

भजनसंग्रह 96:1-10 NNRV

परमेश्‍वरको निम्‍ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ। परमप्रभुको निम्‍ति भजन गाओ, उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सबै मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर। किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवहरूकोभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ। किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्‌, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो। प्रताप र गौरव उहाँको सम्‍मुख छन्‌, उहाँको पवित्रस्‍थानमा शक्ति र महिमा छन्‌। जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। जातिहरूका बीचमा भन, “परमप्रभु राज्‍य गर्नुहुन्‍छ।” संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। उहाँले मानिसहरूको न्‍याय निष्‍पक्षसाथ गर्नुहुनेछ।