तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान् प्रेममा, हे परमेश्वर, तपाईंको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्।
दलदलमा डुब्नुदेखि मलाई बचाउनुहोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्।
पानीको बाढ़ले मलाई नछोपोस्, अथवा जलले मलाई ननिलोस्, वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्।
तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, आफ्नो महान् कृपामा मतर्फ फर्कनुहोस्।
तपाईंको मुहार आफ्नो दासदेखि नफर्काउनुहोस्। मलाई झट्टै उत्तर दिनुहोस्, किनकि म दु:खमा परेको छु।
मेरो नजिक आउनुहोस् र मेरो उद्धार गरिदिनुहोस्, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्।
मेरो तिरस्कार, मेरो शर्म र मेरो बेइज्जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्।
तिरस्कारले मेरो मन भाँचेको छ,
र म निस्सहाय भएको छु। मलाई टिठ्याउने कोही छन् कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्त्वना दिनेहरू पनि, तर कोही थिएन।
तिनीहरूले मेरो खानामा पित्त हाले,
र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए।
तिनीहरूका निम्ति राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्।
तिनीहरूका आँखा धमिला होऊन् र देख्न नसक्ने बनून्,
र तिनीहरूको कमर सदा कुप्रिरहोस्।
तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्,
र तपाईंको दन्किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्।
तिनीहरूको छाउनी उजाड भइजाओस्। तिनीहरूका पालहरूमा कोही वास नगरून्।
किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्यसलाई नै तिनीहरू सताउँछन्,
र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्यसलाई तिनीहरू अझ बढ़ी कष्ट दिन्छन्।
तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्,
र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्।
जीवनको पुस्तकबाट तिनीहरूका नाउँ मेटिऊन्,
र धर्मीहरूका साथमा नलेखिऊन्।