YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 69:1-15

भजनसंग्रह 69:1-15 NNRV

हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌, किनकि पानी मेरो गर्दनसम्‍म आइसकेको छ। उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्‍दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्‌। मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्‍वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्‌। विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्‍दा धेरै छन्‌। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्‌, जसले मलाई मार्न खोज्‍छन्‌। मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्‍य भएको छ। हे परमेश्‍वर, तपाईं मेरो मूर्खता जान्‍नुहुन्‍छ, र मेरा दोष तपाईंबाट लुकेको छैन। तपाईंमा आशा राख्‍नेहरू मेरो कारणले अनादरमा नपरून्‌, हे परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु। हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्‍नेहरू मेरो कारणले शर्ममा नपरून्‌। किनभने तपाईंकै खातिर मैले तिरस्‍कार सहेको छु, र लाजले मेरो अनुहारलाई ढाकेको छ। मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु। किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ, तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि आइपरेको छ, म रुँदा र उपवास बस्‍दा, मैले उपहास सहनुपर्दछ, जब म भाङ्‌ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्‌। मूल ढोकामा बस्‍नेहरू मलाई खिज्‍याउँछन्‌, र म त मतवालाहरूको गीत भएको छु। तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान्‌ प्रेममा, हे परमेश्‍वर, तपाईंको निश्‍चित उद्धारले मलाई उत्तर दिनुहोस्‌। दलदलमा डुब्‍नुदेखि मलाई बचाउनुहोस्‌, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्‌। पानीको बाढ़ले मलाई नछोपोस्‌, अथवा जलले मलाई ननिलोस्‌, वा चिहानले आफ्‍नो मुख ममाथि बन्‍द नगरोस्‌।