भजनसंग्रह 69:1-15
भजनसंग्रह 69:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्म आइसकेको छ। उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्। मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्। विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्दा धेरै छन्। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्, जसले मलाई मार्न खोज्छन्। मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्य भएको छ। हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ, र मेरा दोष तपाईंबाट लुकेको छैन। तपाईंमा आशा राख्नेहरू मेरो कारणले अनादरमा नपरून्, हे परमप्रभु, सर्वशक्तिमान् परमप्रभु। हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले शर्ममा नपरून्। किनभने तपाईंकै खातिर मैले तिरस्कार सहेको छु, र लाजले मेरो अनुहारलाई ढाकेको छ। मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु। किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ, तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि आइपरेको छ, म रुँदा र उपवास बस्दा, मैले उपहास सहनुपर्दछ, जब म भाङ्ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्। मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन्, र म त मतवालाहरूको गीत भएको छु। तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान् प्रेममा, हे परमेश्वर, तपाईंको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्। दलदलमा डुब्नुदेखि मलाई बचाउनुहोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्। पानीको बाढ़ले मलाई नछोपोस्, अथवा जलले मलाई ननिलोस्, वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्।
भजनसंग्रह 69:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ। म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने ठाउँ नै छैन। म गहिरो पानीमा डुबेको छु; बाढीहरू ममाथि उर्लन्छन्। सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्। कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु। हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ; मेरा दोषहरू तपाईंबाट लुकेका छैनन्। हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्। किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु; मेरो अनुहार लाजले ढाकेको छ। मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु; किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ, र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ। जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ; जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्। सहरको मूलढोकामा बस्ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु। तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्चित छुटकाराले मलाई उत्तर दिनुहोस्। मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्! मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्!
भजनसंग्रह 69:1-15 पवित्र बाइबल (NERV)
हे परमेश्वर, मेरो सम्पूर्ण सङ्कटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो। त्यहाँ उभिने कुनै ठाउँ छैन। म तल-तल दलदलमा भाँसिदैछु, म गहिरो पानी भित्र छु, अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्। तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें, मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्। कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्। तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे। मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्, तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्। तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्। हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन। म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिनँ। हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्। मेरो अनुहार शरमले ढाकिएको छ। म तपाईंको निम्ति त्यो शरम सहन्छु। मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्। मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्। तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु। म रोएँ र उपवास बसें, अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे। आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ, अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे। तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन। मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए। तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहन्छु। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु। दलदल देखि मलाई तान्नु होस्। मलाई दलदल भित्र भासिन नदिनुहोस्। मलाई यो गहन पानीबाट बचाउनुहोस्। मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्। पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
भजनसंग्रह 69:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! मलाई बचाउनुहोस्! मेरो घाँटीसम्म पानी आइपुगेको छ। म गहिरो हिलोमा डुब्दै छु र ओबानो जमिन छैन, म गहिरो पानीमा छु र भलमा म डुब्न आँटेको छु। मद्दतको लागि पुकार्दा-पुकार्दा म थाकिसकें र मेरो घाँटी दुख्दै छ। तपाईंको मद्दतको बाटो हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। मलाई बिनाकारण घृणा गर्नेहरूको सङ्ख्या मेरो टाउकोको केशभन्दा धेरै छ, मेरा शत्रुहरूले मेरा विरुद्धमा झूटा कुरा भन्छन्, तिनीहरू बलिया छन् र मलाई मार्न चाहन्छन्। मैले नचोरेको चीजबीज तिनीहरूले मलाई फर्काउन लाउँछन्। हे परमेश्वर! मेरा पाप तपाईंदेखि लुकेका छैनन्, तपाईं जान्नुहुन्छ, म कति मूर्ख भएको छु। मेरो कारणले तपाईंमाथि भरोसा गर्नेहरू लाजमा नपरून्। हे सर्वशक्तिमान् सार्वभौम परमप्रभु! तपाईंलाई पुज्नेहरूलाई मेरा कारणले बदनाम नहोस्! हे इस्राएलका परमेश्वर! तपाईंको कारण मेरो अपमान भएको छ र म लाजमा परेको छु। मेरा दाजुभाइहरूले मलाई नचिनेझैँ गर्छन्, मेरो परिवारभित्र म परदेशीझैँ छु। तपाईंको मन्दिरप्रति मेरो भक्ति आगोझैँ बल्दछ, तपाईंलाई गरेका अपमानहरू ममाथि पर्दै छन्। म उपवास बसेर आफैंलाई नम्र पार्दछु, मानिसहरूले मेरो अपमान गर्छन्। म शोकको समयमा लगाउने लुगा लाएर विलाप गर्दछु र तिनीहरूले मेरो हाँसो उडाउँछन्। तिनीहरूले मेरा बारेमा बाटो-बाटोमा कुरा गर्छन् र मतवालाहरूले मेरो बारेमा गीत रच्छन्। तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु! तपाईंले रोज्नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्वर! आफ्नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस् किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ। हिलोमा डुब्नदेखि मलाई बचाउनुहोस् मलाई मेरा शत्रुहरू र गहिरा पानीदेखि जोगाउनुहोस्। भल-पानी ममाथि नआओस्, त्यसका गहिराइमा मलाई डुब्न नदिनुहोस्, मलाई चिहानमा पर्न नदिनुहोस्।