YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:1-18

भजनसंग्रह 68:1-18 NNRV

परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू छरपष्‍ट भइजाऊन्‌। उहाँका शत्रुहरू उहाँको सामुबाट भागून्‌। जसरी हावाले धूवाँलाई उड़ाएर लैजान्‍छ, त्‍यसरी नै तिनीहरूलाई उड़ाउनुहोस्‌। आगोको सामु मैन बिलाएझैँ, दुष्‍टहरू परमेश्‍वरको सामु नष्‍ट भइजाऊन्‌। तर धर्मीहरूचाहिँ खुशी होऊन्‌, तिनीहरू परमेश्‍वरको अगि उल्‍लसित होऊन्‌, तिनीहरू हर्षले प्रफुल्‍लित होऊन्‌। परमेश्‍वरको निम्‍ति भजन गाओ, उहाँका नाउँको स्‍तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्‍ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्‍लसित होओ। परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ। एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌। हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर। हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो। तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो। परमप्रभुले वचन बोल्‍नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो: “राजा र सेना आतुरीसाथ भाग्‍छन्‌, छाउनीमा मानिसहरू लूटका माल बाँड्‌छन्‌, तिमीहरू आगोका धुनीका बीचमा सुत्‍दा पनि मेरो ढुकुरका पखेटाचाहिँ चाँदीले मोहोरिएका छन्‌, र त्‍यसका प्‍वाँखहरू चम्‍किलो सुनले मोहोरिएका छन्‌।” जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्‍यो सल्‍मोन डाँड़ामा हिमपात भएकोजस्‍तो थियो। बाशानका पहाड़हरू गौरवशाली छन्‌, बाशानका पहाड चट्टानै-चट्टानले पूर्ण छन्‌। हे रूखा पर्वतहरू, ईर्ष्‍याले त्‍यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्‍वरले शासन गर्न खोज्‍नुभएको छ, जहाँ स्‍वयम्‌ परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ? परमेश्‍वरका रथहरू लाखौँ छन्‌, र हजारमाथि हजार। परमेश्‍वर सीनै पर्वतबाट आफ्‍नो पवित्रस्‍थानमा आउनुभएको छ। जब तपाईं उच्‍चमा चढ़िजानुभयो, तपाईंले कैदीहरूलाई बन्‍दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्‍वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि— कि तपाईं, हे परमप्रभु परमेश्‍वर, त्‍यहाँ वास गरून्‌।