भजनसंग्रह 68:1-18
भजनसंग्रह 68:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर उठून्, उहाँका शत्रुहरू छरपष्ट भइजाऊन्। उहाँका शत्रुहरू उहाँको सामुबाट भागून्। जसरी हावाले धूवाँलाई उड़ाएर लैजान्छ, त्यसरी नै तिनीहरूलाई उड़ाउनुहोस्। आगोको सामु मैन बिलाएझैँ, दुष्टहरू परमेश्वरको सामु नष्ट भइजाऊन्। तर धर्मीहरूचाहिँ खुशी होऊन्, तिनीहरू परमेश्वरको अगि उल्लसित होऊन्, तिनीहरू हर्षले प्रफुल्लित होऊन्। परमेश्वरको निम्ति भजन गाओ, उहाँका नाउँको स्तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्लसित होओ। परमेश्वर आफ्नो पवित्र वासस्थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ। एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्दित तुल्याउनुहुन्छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्। हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगिअगि निस्कनुभयो, जब तपाईं उजाड-स्थानबाट भएर अगि बढ्नुभयो, सेला पृथ्वी काम्यो, आकाशले वृष्टि खन्यायो, परमेश्वरको सामु, सीनैमा हुनुहुने, परमेश्वरको सामु, इस्राएलका परमेश्वर। हे परमेश्वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्थापन गर्नुभयो। तपाईंका मानिसहरूले त्यस भूमिमा बसोबास गरे, अनि आफ्नो प्रशस्तताबाट, हे परमेश्वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो। परमप्रभुले वचन बोल्नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो: “राजा र सेना आतुरीसाथ भाग्छन्, छाउनीमा मानिसहरू लूटका माल बाँड्छन्, तिमीहरू आगोका धुनीका बीचमा सुत्दा पनि मेरो ढुकुरका पखेटाचाहिँ चाँदीले मोहोरिएका छन्, र त्यसका प्वाँखहरू चम्किलो सुनले मोहोरिएका छन्।” जब सर्वशक्तिमान्ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्यो सल्मोन डाँड़ामा हिमपात भएकोजस्तो थियो। बाशानका पहाड़हरू गौरवशाली छन्, बाशानका पहाड चट्टानै-चट्टानले पूर्ण छन्। हे रूखा पर्वतहरू, ईर्ष्याले त्यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्वरले शासन गर्न खोज्नुभएको छ, जहाँ स्वयम् परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ? परमेश्वरका रथहरू लाखौँ छन्, र हजारमाथि हजार। परमेश्वर सीनै पर्वतबाट आफ्नो पवित्रस्थानमा आउनुभएको छ। जब तपाईं उच्चमा चढ़िजानुभयो, तपाईंले कैदीहरूलाई बन्दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि— कि तपाईं, हे परमप्रभु परमेश्वर, त्यहाँ वास गरून्।
भजनसंग्रह 68:1-18 पवित्र बाइबल (NERV)
हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्। हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होऊन्। तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्। धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्। उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ “याह” हो उहाँको नाउँको प्रशंसा गर! उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन। हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो। तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो। हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो, तब पृथ्वी काम्यो अनि आकाश पग्लियो। हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो, क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन। तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए। हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो। परमेश्वरले आज्ञा दिनुभयो अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए। “शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए। नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन्, जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए। ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँड्ने छन्। तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्। तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।” जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो। ती झरिरहेका हिमपात जस्तै थिए। परमेश्वरको पर्वत बाशान पर्वत हो। बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो। हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ? परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ। उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो। परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्। उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।
भजनसंग्रह 68:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्। हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्वरको अगि दुष्टहरू नष्ट होऊन्। तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्। परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ। उहाँको पवित्र वासस्थानमा परमेश्वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ। एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्। हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्वरको सामु, जो सीनै पर्वतका परमेश्वर हुनुहुन्छ, परमेश्वरको सामु, जो इस्राएलका परमेश्वर हुनुहुन्छ। हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो। तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो। प्रभुले वचन घोषणा गर्नुहुन्छ; र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ: “राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्; घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्, जब तिमीहरू भेडाको खोरमा सुत्छौ, तब तिमीहरू ढुकुरका पखेटा चाँदी, र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।” जब सर्वशक्तिमान्ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो, त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो। बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू, बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू, हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ? परमेश्वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ। जब तपाईं उच्चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।
भजनसंग्रह 68:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले उठ्नुभएर आफ्ना शत्रुहरूलाई छरपष्ट पार्नुहुन्छ, उहाँलाई घृणा गर्नेहरू हारेर भाग्छन्। उहाँले तिनीहरूलाई हावाले धुवाँ उडाएझैँ उडाउनुहुन्छ, आगोको अघि मैन बिलाएझैँ दुष्टहरू परमेश्वरको सामु नष्ट हुन्छन्। तर धर्मीहरू उहाँको अघि आनन्द गरेर रमाउनेछन्, तिनीहरू प्रसन्न हुन्छन् र आनन्दले स्वर उचाल्छन्। परमेश्वरको स्तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्थितिमा आनन्दित होओ। परमेश्वरले आफ्नो पवित्र मन्दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्ता गर्नुहुन्छ र विधवाहरूको रक्षा गर्नुहुन्छ। उहाँले एक्लो मानिसलाई बस्ने घर दिनुहुन्छ र कैदीहरूलाई छुटकारा दिएर आनन्द दिनुहुन्छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ। हे परमेश्वर! जब तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, तब पृथ्वीमा भूइँचालो गयो र आकाशबाट बृष्टि भयो किनभने सीनैका परमेश्वर, इस्राएलका परमेश्वर आउनुभएको थियो। तपाईंले प्रशस्त बृष्टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। तपाईंका प्रजाले त्यहाँ आफ्ना घर बनाए र आफ्नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो। प्रभुले आज्ञा दिनुभयो र धेरै स्त्रीहरूले यस्तो खबर सुनाए: “राजाहरू आफ्ना सेनासहित भागिरहेका छन्!” घरका स्त्रीहरूले लुटी ल्याएका चीजबीजहरू बाँड-चुँड गरे: चाँदीले मोहोडेका परेवाका मूर्तिहरू, जसका पखेटामा निखुर सुन जडेका थिए, त्यस्ता वस्तुहरू बाँड-चुँड गरे। (किन लडाइँका दिनमा तिमीहरूमध्ये कति जना भेडाका गोठमा बसिरह्यौ?) सर्वशक्तिमान् परमेश्वरले राजालाई सल्मोन पहाडमा छरपष्ट पार्नुहुँदा त्यहाँ हिउँ बर्साउनुभयो। बाशान कति महान् पर्वत छ! त्यस पर्वतमा धेरै चुचुराहरू छन्! तिमी बसेको अग्लो चुचुरादेखि परमेश्वरले आफू बस्न रोज्नुभएको पर्वतलाई किन हेला गरेर हेर्दछौ? परमप्रभु त्यहाँ सदासर्वदा बास गर्नुहुनेछ। आफ्ना हजारौं बलिया रथका साथ प्रभु सीनैदेखि आफ्नो पवित्र बासस्थानमा आउनुहुन्छ। धेरै कैदीहरूलाई साथमा लिएर उहाँ अग्ला पर्वतमा जानुहुन्छ, विद्रोही मानिसहरूले उहाँलाई भेटी चढाउँछन्। परमप्रभु परमेश्वर त्यहाँ बास गर्नुहुनेछ।